काठमाडौं:= अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च गर्नू भनेर सचिवहरूलाई बारम्बार दबाब दिइरहनु राम्रो नहुने बताउनुभएको छ । मंगलबार अर्थ मन्त्रालयमा भएको आर्थिक वर्ष २०७८÷०७९ को हालसम्म भएको पुँजीगत खर्चको समीक्षा बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले ‘खर्च गर्नुहोस्’ भनेर सचिवहरूलाई भनिरहनुनपर्ने र भनिरहँदा राम्रो सन्देश नजाने बताउनुभयोे । मन्त्री शर्माले भन्नुभयो, ‘पुँजीगत खर्च गर्ने सन्दर्भमा बारबार यस्तो बैठक गर्नु आवश्यक होइन, राम्रो कुरा होइन, समस्याको सहजीकरण गर्नु ठीकै हो तर खर्च गर्नुपर्छ भनेर दबाबका रूपमा दबाब दिइरहनुपर्ने कुरा ठीक संस्कार होइन । यसको अन्त्य गर्नुपर्छ ।’
सबै मन्त्रालय र जिम्मेवार व्यक्ति आ-आफ्नो ठाउँबाट जिम्मेवार भएर लागे दबाब दिइरहनुनपर्ने मन्त्री शर्माको भनाइ थियो । उहाँले हरेक मन्त्रालयका सचिवलाई खर्च हुन सक्ने÷नसक्ने योजनाको स्पष्ट विवरण दिन निर्देशन दिनुभयो ।
जनतामा सरकारले पुँजीगत खर्च गर्नै नसक्ने भन्ने सन्देश प्रवाह भएको भन्दै उहाँले खर्च गर्न सकिने तथा नसकिने योजनाको सूची बनाउन निर्देशन दिनुभएको हो । खर्च हुने कुरामा शतप्रतिशत जिम्मेवारी लिएर त्यस्तो सूची तयार पार्न उहाँले निर्देशन दिनुभएको छ ।
अर्थमन्त्री शर्माले खर्चको अर्धवार्षिक समीक्षापछि आ-आफ्नो अनुभवसहितको सुझावसमेत दिन सचिवहरूलाई निर्देशन दिनुभयो । पुँजीगत खर्च बढी हुने मन्त्रालयले विशेषगरी अग्रसरता लिएर योजनालाई अघि बढाउनुपर्नेमा मन्त्री शर्माले जोड थियो । पछिल्लो समय कृषि मन्त्रालयको भूमिका थप हुनुपर्ने पनि उहाँले बताउनुभयो ।




















