ललितपुर महानगरले नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने।

ललितपुर:= ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्नुभएको हो । सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउनुभयो ।

उहाँले महानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि महानगरले एकपछि अर्को काम निरन्तर रूपमा गर्दै आएको पनि बताउनुभयो । मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । महानगरपालिकाभित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उहाँको भनाइ छ ।

त्यस्तै, मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताउनुभयो । उहाँले अगाडि नै लाइट जडान गर्ने टेण्डर गरे पनि अख्तियार परेको कारण काम गर्न नकिएको बताउनुभयो । तर अहिले अख्तियारलाई स्पष्ट बनाएर अहिले ट्राफिक लाइट जडानको लागि ठेक्कासमेत स्वीकृत भएकाले चाँडै लाइट जडान गरिने मेयर महर्जनले बताउनुभयो । अब जडान गरिने लाइट नयाँ टेक्नोलोजी अनुसारको ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने मेयर महर्जनको भनाइ छ ।

ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधारणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजस्व कति तिर्नुपर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैँसीपाटी, सानेपा, रिङरोडभित्र ३ र रिङरोडबाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको छ ।