बहुप्रतिक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ अब चैत ११ मा।

काठमाडौं:= चलचित्रको मेकिङ र कलाकारका कारण बहुप्रतिक्षित बनेको दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्र आउँदो चैत ११ (२५ मार्च २०२२) मा रिलिज हुने भएको छ ।

यसअघि ७ जनवरी २०२२ मा चलचित्र रिलिज हुने भनिएको थियो । आक्रमक प्रचार गरेको चलचित्रको प्रदर्शन मिति भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै सिनेमाहल बन्द भएपछि स्थगित गरिएको थियो । यसअघि उक्त चलचित्र मार्च १८ वा अप्रिल २८ बाट प्रदर्शन गर्ने बारेमा समेत छलफल भएको थियो । १८ मार्चमा अक्षयकुमार अभिनित ‘बच्चन पाण्डे’ र २८ अप्रिलमा अजय देवगनको ‘रनवे ३४’ रिलिज हुँदैछ । त्यसकारण ‘आरआरआर’ रिलिजका लागि नयाँ मिति छानेको हो ।

एसएस राजामौली निर्देशित चलचित्रमा जुनियर एनटिआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड मा रिलिज हुनेछ ।

कसको पारिश्रमिक कति ?

‘आरआरआर’ भारतकै सबभन्दा महँगो चलचित्र हो । साढे चार सय करोड भारूमा बनेको यो चलचित्रका कलाकारको पारिश्रमिक पनि कम महँगो छैन । आरआरआरमा मुख्य भूमिका निर्वाह गर्नुभएका रामचरण र एनटिआरले यो चलचित्रका लागि ४५ करोड भारू जति पारिश्रमिक लिएको केही भारतीय सञ्चारमाध्यमले लेखेका छन् । तर यसबारे अभिनेताद्वय र निर्देशक कसैले पनि पुष्टि गर्नुभएको छैन ।

चलचित्रमा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्ट पनि प्रमुख भूमिकामा देखिनु भएको छ । तर पूरा चलचित्रमा उहाँहरूको भूमिका समय कम छ । चलचित्रमा आलियाको भूमिका २० मिनेटभन्दा कम छ । अजयले आफ्नो ८ मिनेटको भूमिकाका लागि आरआरआर टोलीलाई जम्मा सात दिनको समय दिनुभएको थियो ।

यति कम समय र भूमिका भए पनि यी दुई कलाकारले एकदमै धेरै पारिश्रमिक पाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । हंगामाले बलिउड स्रोतलाई उद्धृत गर्दै लेखेको छ– आलियाले यो फिल्ममा छोटो भूमिकाका लागि बलिउडमा सिंगै चलचित्र खेले बराबरको पारिश्रमिक पानुउ भएको छ। उहाँको भूमिका छोटो भए पनि उहाँ चलचित्रकी मुख्य अभिनेत्री हुनुहुन्छ । उहाँले आरआरआरबाट ९ करोड भारू पारिश्रमिक लिनु भएको छ ।