झापा := झापा गौरादहका नलबहादुर खड्काको मलेसियामा राम्रै कमाइथियो । मलेसियामा उहाँले ६० लाख नेपाली रुपैयाँको लागतमा होटल सञ्चालन गर्नुभएको थियो । होटल पनि सोचेभन्दा राम्रो चल्यो । उहाँले १० वर्ष विदेशमा संघर्ष गर्दा मलेसियाको होटलसहित डेढ करोडको सम्पत्ति जोड्नुभयो ।
होटल राम्रो चलेपछि एक्लैलाई धान्न मुस्किल भयो । श्रीमती सीतालाई पनि मलेसिया बोलाउनुभयो । दुईजना भएर विदेशमा संघर्ष गर्न थाल्नुभयो । एकदिन होटलमा जाने क्रममा उहाँहरू सवार मोटरसाइकल दुर्घटना भयो । नलबहादुर मोटरसाइकल हाँक्दै हुनुहुन्थ्यो । श्रीमती पछाडि हुनुहुन्थ्यो । बाटोमा कुकुरलाई जोगाउँदा उहाँहरू दुर्घटनामा पर्नुभयो । नलबहादुरको देब्रे खुट्टामा गहिरो चोट लाग्योे ।
चार महिना मलेसियामै उपचार गराउँदा पनि खुट्टा ठीक भएन । झन्–झन् सुनिँदै गयो । श्रीमतीलाई मलेसियामै छाडेर १० वर्षको मलेसिया बसाइ टुंग्याउँदै नलबहादुर स्वदेश फर्किनुभयो । नेपाल फर्किएर ललितपुरको बी एण्ड बी अस्पतालमा उपचार गराउनुभयो । उपचारमा ६०–७० लाख बराबर खर्च भएको उहाँ बताउनुहुन्छ । जोडेको जग्गा उपचारमै सकियो । तर, खुट्टा राम्रो नभएपछि चार वर्ष मलेसिया बस्नुभएकी सीता पनि स्वदेश फर्किनुभयो ।
‘अर्काको देशमा खोलेको होटल म आएपछि चलाउन नसक्ने अवस्थामा पुग्यो । घर भाडा बढेको बढ्यै थियो । ६० लाखभन्दा धेरै लगानी गरेर खोलेको होटल छाडेर आयौँ,’ नलबहादुर भन्नुहुन्छ, ‘नेपाल आएर पनि खुट्टा राम्रोसँग निको भएन । अझै पनि सुन्निएको छ । अब यतिकै चल्छ । मलेसियामा राम्रो उपचार नहुँदा ठीक भएन,’ उहाँले भन्नुभयो । नौ वर्षअघि नेपाल फर्किनुभएका नलबहादुरले केही समय गौरादहमा सानो होटल चलाउनुभयो ।
होटल पनि राम्रै चल्दै थियो । तरकारी पसलमा बेच्न ल्याएको च्याउले उहाँको ध्यान तान्यो । च्याउ बेच्न ल्याउने किसानसँग उहाँले सोध्नुभयो- च्याउ उत्पादनमा कति खर्च आउँछ ? एउटा पोकामा ६०÷६२ रुपैयाँ खर्च आउँछ भन्ने जवाफ उहाँले पाउनुभयो । नाफा चाहिँ राम्रै हुने उत्तर पाएपछि उहाँलाई पनि च्याउ खेती गर्न मन लाग्यो । कमाएको सम्पत्ति सबै खुट्टाको उपचारमा खर्च गर्नुभएका नलबहादुरसँग खेती सिक्न पैसा थिएन । अरूले गरेको च्याउ खेती हेर्दै उसलाई सघाउँदै उहाँले च्याउ खेती गर्न सिक्नुभयो ।
नलबहादुरले सुरुमा दुई धुर जग्गा भाडामा लिएर ८५ पोका च्याउ रोप्नुभयो । जसमा खर्च कटाएर उहाँले ९० हजार रुपैयाँ कमाउनुभयो । एकपटक काठमाडौं गएर उपचार पनि गराउनुभयो । च्याउ खेतीमा राम्रो आम्दानी देखेपछि उहाँले खेती विस्तारको योजना बनाउनुभयो । खुट्टा राम्रोसँग ठीक नभए पनि १८ घण्टा खटेर च्याउ उत्पादनमा उहाँ लाग्नुभयो । अहिले च्याउ खेतीमा राम्रो सफलता पाउनुभएको छ, नलबहादुरले ।
दुई धुरबाट सुरु भएको उहाँको कृषि कर्म अहिले तीन बिघामा विस्तार भएको छ । गौरादह-४ मा तीन बिघा जमिन लिजमा लिएर उहाँले खेती गर्दै आउनुभएको छ । उहाँले एक बिघामा च्याउ खेती गर्नुहुन्छ भने बाँकी जमिनमा तरकारी, धानलगायत खेती गर्दै आउनुभएको छ । उहाँले जमिनको भाडाबापत वाार्षिक एक लाख बुझाउनुहुन्छ । दुई छोरालाई च्याउ खेतीबाटै पढाएको उहाँ बताउनुहुन्छ । ‘यो पेसामा खट्नु चाहिँ साह्रै पर्छ । मेरो खुट्टा यस्तो हुँदा पनि दैनिक १८ घण्टा खट्छु । दुई घण्टा काम गरेर आधा घण्टा रेष्ट गरिनँ भने खुट्टाले काम गर्न निकै मुस्किल पर्छ । अहिले पनि खुट्टा सुन्निएको छ,’ नलबहादुर भन्नुहुन्छ ।
श्रीमतीकै नाममा सीता च्याउ उद्योग दर्ता गर्नुभएको छ, नलबहादुरले । श्रीमती पनि श्रीमानसँगै च्याउ खेतीमा खटिनुहुन्छ । ‘सिजनमा च्याउ टिप्न साँझ ७ बजे छिर्छौं । बिहान ४ बजे मात्र निस्कन्छौँ । मिहिनेत धेरै गर्नुपर्छ । तर, सन्तुष्ट छौँ,’ सीता भन्नुहुन्छ । उहाँको परिवारबाहेक अन्य चारजनाले रोजगारीसमेत पाएका छन् । सिजनमा दैनिक ४० जनासम्मले प्रत्यक्ष अप्रत्यक्ष काम पाएको नलबहादुर बताउनुहुन्छ ।
खुट्टाका कारण पानी जमेको ठाउँमा जान उहाँलाई मुस्किल हुन्छ । च्याउको पोका राखेको टनेलमा पानी हुन्छ । उहाँ टिप्ने काम गर्नुहुन्न । केलाउन सघाउने गरेको उहाँ बताउनुहुन्छ । दैनिक ६ सयदेखि आठ सय केजीसम्म च्याउ टिपरे बजारमा पठाउने गरेको नलबहादुर बताउनुहुन्छ । ‘रातभर टिपेर, केलाएर, जोखेर ठिक्क पार्छौं । बिहान डिलरको गाडी आएर च्याउ लैजान्छ,’ उहाँ भन्नुहुन्छ ।
१९ सय ९५ रुपैयाँबाट सुरु भएको उहाँको च्याउ खेतीमा अहिले एक करोड लगानी पुगेको उहाँको दाबी छ । वार्षिक करोडको कारोबार च्याउ खेतीबाटै गर्नुहुन्छ, नलबहादुर । ‘नेपालमै केही गर्न सके राम्रो हुन्छ । म त अहिले सन्तुष्ट छु । खुट्टाका कारण विदेशमा कमाएको सबै सकेर उल्टै सात/आठ लाख ऋण गरेर आएको हुँ । अहिले जग्गा पनि जोडेँ,’ उहाँ भन्नुहुन्छ, ‘केही ऋण त छ । तर, सामान्य पैसा चलाउन समस्या छैन । गर्न सके नेपालमै केही हुन्छ भन्ने प्रमाणित गरेको छु ।’
तर, कृषि क्षेत्रमा कामदार पाउन निकै मुस्किल हुने उहाँ बताउनुहुन्छ । ‘भन्नचाहिँ काम पाएनौँ, रोजगारी छैन भन्छन् । तर, हामीलाई कामदार पाउनै मुस्किल हुन्छ,’ नलबहादुर भन्नुहुन्छ । कृषि पेसामा केही गरौँ भनेर लाग्नुभएका नलबहादुरले कृषि ज्ञान केन्द्रमार्फत केही अनुदान त पाउनुभयो तर स्थानीय सरकारबाट प्रोत्साहनसम्म नभएको उहाँको गुनासो छ ।




















