बाजुरा जिल्लाका मुक्त हलियाको जीवनस्तर एकदमै नाजुक, छाँक टार्न पनि समस्या।

बाजुरा:= बाजुराको उत्तरपूर्वी भेगको बुढीनन्दा नगरपालिका-६ दैयाका हलियाले गिट्टी कुटेर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष बिते पनि उचित व्यवस्थापन नहुँदा हलियाहरूको जीवनस्तर झन् नाजुक बन्दै गएको छ ।

सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गाजमिन नदिएपछि खोला किनारमा गिट्टी कुटेर पेट पाल्दै आएको हलियाको गुनासो छ । स्थानीय सरकार आएको पाँच वर्ष पुग्न लाग्दा पनि हलिया समुदायले स्थानीय तहबाट पाउने सेवासुविधासमेत नपाएको उनीहरूले बताउँदै आएका छन् ।

बुढीनन्दा नगरपालिका-६ दैयाका खड्के विककी आमा शारीरिक अपांगता हुनुहुन्छ । आमाबुबालगायत १४ जना परिवार पाल्न उहाँलाई निकै समस्या छ । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रममा समेत राजनीतीकरण गरेर आफ्नो परिवारलाई छनोट नगरेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘थोरै जमिन थियो, त्यही जमिनसमेत बड्डीगाड खोलाले बगायो । अहिले ढुंगा फुटाएर नै सकिनसकी १४ जनाको परिवार पाल्दै आएको छु ।’

स्थानीय तहबाट पाउने हरेक सेवासुविधाबाट आफू वञ्चित हुँदै आएको उहाँको गुनासो छ । हलियाले पाउने भनेको राहतसमेत अहिलेसम्म पाउन नसकेको अर्का हलिया सगुने विकले बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘परिवार पाल्नका लागि बड्डीगाड खोलामा दिनभरि ढुंगा फुटाउँछु । पछिल्लो समय कुटेको गिट्टी बिक्रीसमेत भएको छैन ।’

घरखर्च चलाउनका लागि गाउँमा रोजगारी नपाएपछि श्रीमान्लाई कोरोनाको जोखिममा समेत भारतमा काम गर्न पठाएको गौती विकले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, ‘कोरोना आएको छ, श्रीमान् भारतमा छन् । के–कस्तो छ फोनसमेत गर्न पाएको छैन ।

श्रीमान्ले अलिकति पैसा कमाएर ल्याएपछि उधारो ल्याएको दालचामलको पैसा तिर्न हुन्थ्यो ।’ आफूले पनि दिनमा गिट्टी कुटेर छोराछोरीको पेट पाल्ने गरेको उहाँले बताउनुभयो ।  ‘पेट पाल्नकै लागि दुःख गरेर खोलामा मरिमेटी ढुंगा फुटायौँ तर ती फुटाएका ढुंगासमेत बिक्री नभएर खोलामै थन्किएका छन,’ अर्की पीडित जनकला विकले भन्नुभयो ।

उहाँहरूमात्रै होइन, दैयाका हलिया दिनभरि कामका लागि विभिन्न ठाउँमा भौंतारिरहेका हुन्छन् । तर, काम नपाएपछि बेलुका निराश हुँदै घर फर्कने गरेको नरे विकले सुनाउनुभयो । आफूले बनाएको घरमा टिन हाल्ने पैसा नहुँदा अहिलेसम्म घर छाउन नसकेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, ‘घर छाउन सहयोग पाएको छैन ।’