फिफा विश्वकप- २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना र उरुग्वेको जित।

लण्डन := लुइस सुआरेजको गोलमा उरुग्वेले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा पाराग्वेलाई १-० गोलअन्तरले पराजित गरेको छ । पाराग्वेमा शुक्रबार बिहान भएको खेलमा लुइस सुआरेजले दोस्रो हाफमा निर्णायक गोल गर्नुभएको थियो ।

खेलको ५०औं मिनेटमा सुआरेजले खेलको एकमात्रै गोल गर्नुभएको हो । उहाँले डिएगो गोडिनको पासमा गोल गर्नुभएको थियो । यो जितले चौथो स्थानमा उक्लिएको उरुग्वेको १५ खेलबाट १९ अंक पुगेको छ ।

पराजित पाराग्वे १५ खेलबाटै १३ अंक जोडेर नवौं स्थानमा छ । यस्तै विश्वकप छनोटकै अर्काे खेलमा ब्राजिल इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिदा अर्जेन्टिनाले चिलीलाई २-१ ले पराजित गरेको छ ।

यता अर्को खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई २-१ गोलअन्तरले पराजित गर्‍यो । अर्जेन्टिनाको जितमा एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गर्नुभयो । घरेलु टोलीका विन वेरेन्टेनले एक गोल फर्काउनुभयो ।

शुक्रबार बिहान भएको खेलको १०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाउनुभयो। २१औं मिनेटमा बेन बेरेन्टेनले बराबरी गोल फर्काउनुभयो । उहाँले मार्सेलिनो नुनेजको पासमा गोल गर्नुभएको थियो । ३४औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २-१ को जित दिलाउनुभयो ।

जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक पुगेको छ । अर्जेन्टिनाले कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनासँगको हारले चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

चिली १५ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा रहेको छ । टोली शीर्ष चारको उरुग्वेभन्दा तीन अंकले तथा प्ले अफ अर्थात् पाँचांै स्थानको कोलम्वियासँग एक अंकले पछि छ । अब चिलीले छनोटको बाँकी खेलमा जित निकालेरमात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

यता ब्राजिलले इक्वेडरसँग एक/एक गोलको बराबरी खेल्यो । क्वेटो इक्वेडरमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलका लागि क्यासमिरोले गोल गर्दा घरेलु टोलीका फेलिक्स टोरेसले बराबरी गोल फकाउनुभयो । यो बराबरीसँगै शीर्षस्थानमा रहँदै विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ ।

ब्राजिलले १४ खेल खेल्दा ११ जित र तीन बराबरीको नतिजा निकालेर ३६ अंक जोडेको छ । छनोटमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग बराबरी खेलेको थियो । इक्वेडर २४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।