चितवन:= युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तक्र्रिया कार्यक्रममा उहाँले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताउनुभएको हो ।
नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको भन्दै उहाँले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रंगशाला सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयको सिंगो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीले अध्ययन थाल्ने बताउनुभयो । रंगशाला सम्पन्न गर्न स्थानीयवासीको चासो हुनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘तपाईंहरू एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ ।’
केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रंगशाला सम्पन्न हुने उहाँको भनाइ थियो । खेलकुदका पूर्वाधार बजेटको अभावमा अलपत्र परेको भन्दै दातृ निकायसँग आर्थिक सहयोगका लागि कुराकानीसमेत भइरहेको उहाँले बताउनुभयो।रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश-सुन्तली फाउण्डेशनले अहिलेसम्मको खर्च विवरण यथाशीघ्र सार्वजनिक गरेर बुझाएमा काम अघि बढाउन सहज हुने मन्त्री गहतराजको भनाइ थियो । ‘राष्ट्रिय सहमति जुटेर अघि बढेको देशकै यो नमुना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले यो परियोजना स्थानीयस्तरबाट सम्पन्न गर्न कठिन हुने भएकाले यसको नेतृत्व संघीय सरकाले लिएर सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो राष्ट्रका लागि अपरिहार्य परियोजना हो । सरकारले अपनत्व लिएर पूरा गर्नुपर्छ ।’ युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले परियोजना सम्पन्न गर्न मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको हालसम्मको संक्षिप्त विवरण पेश गर्दै सो को दीर्घकालीन व्यवस्थापन गर्न महानगरपालिकाको स्रोत, साधन र क्षमताले नभ्याउने भएकाले संघीय सरकारको निर्णय आवश्यक भएको बताउनुभयो । यो महानगरभित्रको गौरवको आयोजना भएको भन्दै प्रमुख दाहालले यसमा ३० हजारभन्दा बढी नागरिकको आर्थिक रूपमा योगदान रहेको बताउनुभयो ।
फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले केही दिनभित्रमा नै आयव्यय सार्वजनिक गर्ने बताउनुभयो । यो आयोजना विशेष परिस्थितिका कारण सम्पन्न गर्न नसके पनि आर्थिक रूपमा पारदर्शी गरिएको उहाँको भनाइ थियो ।
भरतपुरमा निर्माणाधीन रंगशाला आर्थिक अभावका कारण विगत चार महिनादेखि काम रोकिएको छ । सो आयोजना सम्पन्न गर्न तीन अर्ब हाराहारी खर्च हुनेअनुमान रहेको छ । फाउण्डेशनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ । अन्तक्र्रिया कार्यक्रमअघि मन्त्री गहतराजसहितको मन्त्रालयको टोलीले काम रोकिएको रंगशालाको निरीक्षण गरेको थियो ।




















