काठमाडौं:= आफूलाई स्टेज पर्फमर भन्ने तर निरन्तर गीत गाइरहने कलाकार दुर्गेश थापा आफू विवादमा पर्दा खासै आत्तिनुहुन्न । उहाँले आफूले गाएका प्रायः गीतहरू विवादमै पर्ने गरेका छन् । गीतमा प्रयोग भएका शब्द र भिडियोमा देखाइने दृश्यका कारण दुर्गेशका गीतहरू विवादमा पर्ने गर्छन् ।
दुर्गेशले आफ्नो गीत विवादमै ल्याउन चाहने उहाँ निकट केही कलाकार तथा पत्रकारले पनि सुनाउँदै आएका छन् । गीत विवादमा आएपछि युट्युबमा भ्युज धेरै जाने र गीतले चर्चा कमाउने दुर्गेशको धारणा छ । त्यसैले पनि कुनै न कुनै कारणले गीत विवादमा आओस् भन्ने चाहनुहुन्छ उहाँ । यसैक्रममा दुर्गेशले शुक्रबार आफ्नै लय, शब्द र स्वरमा रहेको ‘पैसा’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । जुन गीतमा पनि आपत्तिजनक शब्द प्रयोग गरिएको छ । केही महिनाअघिदेखि तयारीका साथ दुर्गेशले आफ्नो युट्युब ‘डिसिरिज’ मार्फत् सार्वजनिक गर्नुभएको गीतमा समाजमा अपाच्य शब्द प्रयोग गरिएको छ । जसले गर्दा यो गीतले दुर्गेशलाई फेरि विवादमा ल्याउन सक्ने देखिन्छ ।
दुर्गेशले गीतमार्फत् पैसाले देश ध्वस्त बनाएको सन्देश दिन खोजेको बताउनुभएको छ । तर, गीतको बीच-बीचमा प्रयोग भएका केही अपाच्य शब्दले परिवारसँग बसेर हेर्न र सुन्न नमिल्ने देखिन्छ । भिडियोमा पनि पैसालाई ‘बेड’ भरि छरेर युवतीहरूलाई नचाइएको छ । दुर्गेश पनि सँगै नाच्नुभएको छ । भिडियोलाई रूपेश थापाले निर्देशन गर्नुभएको हो ।

दुर्गेशले भिडियो युट्युबमा अपलोड गर्दै ‘कमेन्ट पिनटप’ गर्दै लेख्नुभएको छ, ‘नयाँ गीत पैसा लिएर आएको छु । विगतका गीतहरूलाई जस्तै यो गीतलाई पनि उत्तिकै माया गरिदिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । टिकटक बनाउनुहोस् मन खोलेर, लाइक, कमेन्ट शेयर गर्न पनि नभुल्नुहोला ।’ भिडियो हेरिसकेपछि दर्शकले दिएका अधिकांश प्रतिक्रिया सकारात्मक नै छन् ।
केही समयअघि सार्वजनिक दुर्गेशको ‘बहिष्कार’ गीतलाई विवादमै ल्याउनका लागि केही सञ्चारकर्मीलाई आग्रह गरेको बुझिएको छ । उहाँ निकट एक सञ्चारकर्मीले भन्नुभएको छ, ‘दुर्गेशले गीत हिट हुन्छ भनेर विवाद आउने खालको समाचार लेखिदिन आग्रह गर्छन् । उनलाई गीत विवादमा आउँदा टेन्सनभन्दा पनि खुसी लाग्छ सायद ।’
दुर्गेशले आफूले गाएको गीतबाट प्रशंसा पाउँदै नपाउनुभएको भने होइन । ‘बिच्च-बिच्चमा’ बोलको तीज गीतबाट उहाँको प्रशंसा भएको थियो । दिदीबहिनीसँगै दाजुभाइले पनि तीजपर्व मनाउनुपर्छ भन्ने आशयले बनाइएको गीतबाट निकै चर्चा कमाउनुभयो । उक्त गीतबाट दुर्गेशले फर्केर हेर्नुपरेको छैन । उहाँलाई स्टेज कार्यक्रममा भ्याईनभ्याई भयो । महिनामा २५ दिनसम्म पनि स्टेजमा व्यस्त भएको दुर्गेशले अन्तर्वार्ताहरूमा बताउँदै पनि आउनुभएको छ । तर, पछि सार्वजनिक गीतहरू प्रायः सबैजसो विवादमा परे । उहाँलाई तिहार गीत ‘डन आयो डन’ ले प्रहरीको ढोकासम्म पु¥याएको थियो ।
‘बिच्च–बिच्चमा’ गीत विवादमा आएसँगै उहाँले तीजलक्षित गीत ‘बिच्च–बिच्चमा २’ र ‘बिच्च-बिच्चमा ३’ पनि सार्वजनिक गर्नुभयो । यी दुवै गीतबाट पनि उहाँको आलोचना भयो । एक गीतमा अर्को गीतबाट एक लाइन कपी गरेका कारण आलोचना खेप्नुपर्यो भने अर्कोमा भिडियोमा समावेश गरिएका दृश्यका कारण आलोचना भयो ।
दुर्गेश गीतका कारण मात्र होइन, अन्तर्वार्तामा बोल्नेक्रममा पनि आलोचित हुँदै आउनुभएको छ । गीतबाट आएको आलोचनाबाट धेरै तनावमा नरहे पनि दुर्गेश एक टेलिभिजनको अन्तर्वार्ताका क्रममा आलोचित बनेपछि बढी तनावमा हुनुहुन्थ्यो । दुर्गेशलाई स्वरसम्राट नारायण गोपाललाई सम्झेर एउटा गीत गाउन आग्रह गर्दा उहाँले भक्तराज आचार्यको र यम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाइदिएपछि संगीतको विषयमा केही पनि नजानेको भन्दै दर्शकश्रोताबाटै आलोचित बन्नुपरेको थियो ।
दुर्गेशको स्टेजमा गीत गाउने शैलीका कारण पनि मेला महोत्सवका आयोजकले उहाँलाई निम्ता दिने गर्छन् । दर्शकलाई कसरी मनोरञ्जन दिने भन्ने ज्ञान भएका दुर्गेशले महोत्सवका आयोजकलाई भने आफ्नो पोल्टामा पार्ने गर्नुहुन्छ । अर्थात् मिठो बोलीवचनका कारण पनि आयोजकसँग नजिक हुने गर्नुहुन्छ ।




















