कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै : स्थानीय तह निर्वाचनको मिति मुख्य एजेण्डा।

काठमाडौं:= नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गर्नुभएको छ । केन्द्रीय समितिको आकार ठूलो भएको र कोरोना महामारीका कारण बैठक बस्न सम्भव नभएपछि सभापति देउवाले तत्कालै कार्यसम्पादन समिति गठनको तयारी गर्नुभएको हो। कोरोना महामारी र सरकारले लागू गरेको २५ जनाभन्दा बढी भेला हुन नपाउने स्वास्थ्य मापदण्डका कारण कार्यसम्पादन समिति गठनका लागि सभापति देउवाले भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । बैठकमा समसामयिक विषय, राष्ट्रिय तथा पार्टीको आन्तरिक विषय, स्थानीय तह निर्वाचनको मिति, राष्ट्रियसभा निर्वाचनको समीक्षा र केन्द्रीय कार्यसम्पादन समिति गठनलगायत एजेण्डामा छलफल हुने बताइएको छ ।

सभापति देउवानिकट एक केन्द्रीय सदस्यले शुक्रबार बस्ने भर्चुअल बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको प्रस्ताव पेश हुने जानकारी दिनुभयो । पार्टीको १४औँ महाधिवेशनपश्चात् तेस्रोपटक बस्न लागेको बैठकमा १६ जिल्लामा स्थगित रहेको पार्टीको जिल्ला अधिवेशन र भ्रातृ तथा शुभेच्छुक संस्थाको विषयमा पनि छलफल हुने बताइएको छ । भ्रातृ संस्था नेपाल तरुण दल, नेविसंघ, मुश्लिम संघलगायत अध्यक्षहरू पार्टीको केन्द्रीय सदस्य जितेका छन् । विधानअनुसार केन्द्रीय सदस्य भएपछि भ्रातृ संस्थाका पद स्वतःखारेज हुन्छ । साथै, अन्य भ्रातृ तथा शुभेच्छुक संस्थाको लामो समयदेखि अधिवेशन हुन सकेको छैन ।

नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारीहरू स्वतः पदेन सदस्य हुन्छन् । सभापतिले कार्यसमितिका सदस्यहरूमध्येबाट समावेशी सिद्धान्तका आधारमा ३१ जना केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव गर्ने वैधानिक व्यवस्था छ । कार्यसम्पादन समितिमा प्रवक्ता र संसदीय दलका नेता पदेन सदस्य रहने पार्टी विधानमा उल्लेख छ । सभापतिले गरेको प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकले बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । विधानको व्यवस्थाअनुसार महाधिवेशनबाट निर्वाचित १३ पदाधिकारी, मनोनीत हुन बाँकी कोषाध्यक्ष र प्रवक्ता तथा संसदीय दलका नेता गरी ४७ सदस्यीय कार्यसम्पादन समिति हुनेछ ।

तर, संसदीय दलको नेता सभापति देउवा नै भएकाले केन्द्रीय कार्यसम्पादन समिति ४६ सदस्यीय हुनेछ । कार्यसम्पादन समितिमा सदस्य रहने कोषाध्यक्ष र प्रवक्ता नियुक्त गर्न बाँकी छ। केन्द्रीय समिति बैठक बोलाउने विषयमा उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच केही दिनअघि खड्का निवासमा छलफल भएको थियो । नेतात्रयबीचको छलफलपछि बिहीबार तीनैजनाले सभापति देउवासँग परामर्श गर्नुभएको थियो । उहाँहरूसँगको छलफलपछि सभापति देउवा केन्द्रीय समिति बैठक बोलाउन तयार हुनुभएको हो । कार्यसम्पादन समिति बैठक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने व्यवस्था छ ।

कार्यसम्पादन समितिले गर्ने मुख्य काम

केन्द्रीय समितिको बैठक बस्न नसक्ने अवस्थामा अपर्झट निर्णय गर्नुपर्दा कार्यसम्पादन समितिले काम गर्छ । कांग्रेसमा झण्डै ५० विभागहरूको कामको समीक्षा गर्छ । संसदीय दलको विषय समितिका संयोजकसँग छलफल गर्छ । केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकका बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ । कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन हुनुपर्नेछ ।

सभापति देउवाले अघिल्लो कार्यकालमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरे पनि पार्टीभित्र तीव्र विवाद भएपछि विघटन गर्नुभएको थियो । कार्यसम्पादन समिति नभएका कारण पार्टी विधानले नै नचिन्ने पदाधिकारी नामको संयन्त्र बनाएर त्यसकै बैठकहरूबाट महŒवपूर्ण निर्णय हुने गरेका थिए । कांग्रेस विधानमा पदाधिकारी बैठकको कुनै व्यवस्था नभएको भन्दै कतिपय केन्द्रीय सदस्यहरूले विरोध गर्दै आएका थिए ।

कांग्रेसमा महाधिवेशन र महासमितिपछि सबैभन्दा माथिल्लो शक्तिशाली निकाय केन्द्रीय समिति हो । पार्टीका निर्णयहरू हरेक निर्णयहरू केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नैपर्ने विधानमा व्यवस्था छ । तर, केन्द्रीय समितिको आकार ठूलो भएपछि केन्द्रीय कार्यसम्पादन समिति गठन भएसँगै अब केन्द्रीय समिति कार्यसम्पादन समितिको छाया बन्ने निश्चित छ । कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने थलोको रूपमा मात्र केन्द्रीय समिति सीमित हुने देखिएको छ ।

नेपाली कांग्रेसको विधानमा १६८ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । केन्द्रीय समितिमा अहिले १४८ सदस्य मात्र छन् । महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढी मत पाउने स्वतः केन्द्रीय सदस्य हुने विधानको व्यवस्थाअनुसार डाक्टर शेखर कोइराला केन्द्रीय सदस्य हुनुभएको छ । ३३ जना सभापतिले मनोनीत गर्न पाउने व्यवस्था छ । जसअनुसार सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनीत गरिसक्नु भएको छ । अझै २० जना केन्द्रीय समितिमा मनोनीत गर्न बाँकी छ ।