इजिप्ट अफ्रिका कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश।

लण्डन:= आइभरी कोस्टलाई ट्राइब्रेकरमा पराजित गर्दै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। इजिप्टले ट्राइब्रेकरमा पाँच÷चारको जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा इजिप्टका जिजो, अमर अल सुलाया, ओमार कमल, मोहम्मद एब्डेल मोनिइम र मोहम्मद सलाहले गोल गर्नुभयो । आइभरी कोस्टका निकोलस पेपे, इब्राहिम संगारे, म्याक्सवेल कर्नेट र वेलफ्रेड जाहाले गोल गर्दा इरिक बेइलीले गोल गर्न सक्नुभएन । अब इजिप्टले क्वार्टरफाइनलमा मोरक्कोसँग ३० जनवरीमा खेल्नेछ ।

यस्तै अर्काे प्रि–क्वार्टरफाइनलमा इक्वेटेरियल गिनियाले मालीलाई सडन डेथमा ६-५ ले पराजित गर्दै क्वार्टरफाइनलमा सेनेगलसँगको भेट पक्का गरेको छ । निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकमा पनि बराबरीपछि सडन डेथमा इक्वेटेरियल गिनियाले बाजी मारेको हो ।

इक्वेटेरियल गिनियाका रुवेन वेलिना, कार्लाेस एकापो, जान्निक वाइला साम, साउल कोको, इवान साल्भाडोर र सान्टियागो इनिमीले गोल गर्दा इमिलियो र पाब्लो गानेटले गोल गर्न सक्नुभएन । मालीका एडमा ट्राओरे, मोउसा डिजेनपो, इल विलाल ट्राउरे, एलिउ डिइङ र मोहम्मद कामराले गोल गर्दा मासाडियो आइडारा, हामरी ट्राओरे र फालाए साकोले गोल गर्न सक्नुभएन ।

योसँगै अफ्रिका कप अफ नेसन्सको प्रि-क्वार्टरफाइनलको समीकरण पूरा भएको छ । अब क्वार्टरफाइनलमा गाम्विया र क्यामरुन, बुर्किना फासो र ट्युनिसिया, इजिप्ट र मोरक्को तथा सेनेगल र इक्वेटेरियल गिनियाबीच प्रतिस्पर्धा हुनेछ । क्वार्टरफाइनलका खेलहरू २९ जनवरीदेखि सुरु हुनेछन् ।

यसैबीच अफ्रिका कप अफ नेसन्सको समूह चरणबाटै बाहिरिएपछि घाना फुटबल संघले मुख्य प्रशिक्षक मिलोभान राजेभाकलाई बर्खास्त गरेको छ । समूह ‘सी’ मा रहेको घानाले तीनमध्ये दुई खेलमा पराजय भोग्नुका साथै एक खेलमा बराबरीको नतिजा निकाल्दै समूहको पुछारमा रहेको थियो ।

समूह चरणमा घानाले मोरक्कोसँग १-० तथा कोमोरोससँग तीन÷दुईको पराजय भोगेको थियो । घानाले गाबोनसँग एक÷एकको बराबरीमा खेलेको थियो । संघले व्यवस्थापन समितिका सदस्यहरूलाई समेत बर्खास्त गरेको छ ।