भारत र वेस्ट इन्डिजको क्रिकेट टोली घोषणा।

नयाँदिल्ली:= आगामी भारत र वेस्ट इन्डिजबीच हुने क्रिकेट शृंखलाका लागि दुवै टोलीले आ–आफ्नो अन्तिम खेलाडीको नामावली सार्वजनिक गरेका छन् । भारतले रोहित शर्माको कप्तानीमा वेस्ट इन्डिजसँग हुने तीन एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र तीन टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि टोली घोषणा गरेको हो ।

भारतको ओडिआई टोलीमा कुलदीप यादवले पुनरागमन गर्नुभएको छ । युवा लेग स्पिनर रवि विश्रोईले पहिलोपटक भारतीय टोलीमा स्थान बनाउनुभएको छ । त्यसबाहेक तीव्र गतिका बलर आवेश खान र हर्षल पटेललाई पनि भारतले टोलीमा समेटेको छ ।

त्यस्तै स्पिन अलराउन्डर वासिन्टन सुन्दर र अक्षर पटेलले पनि पुनरागमन गर्नुभएको छ । भारतले तीव्र गतिका बलर जस्प्रित बुमराह र मोहम्मद शामीलाई विश्राम दिएको छ । तीनै ओडिआई खेल अहमदाबाद र तीन टी–२० खेल कोलकातामा हुने तालिका रहेको छ ।

भारतको ओडिआईमा रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, शिखर धवन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, दीपक हुडा, ऋषभ पन्त (विकेटकिपर), दीपक चाहर, शार्दुल ठाकुर, युजभेन्द्र चहल, कुलदीप यादव, वासिन्टन सुन्दर, रवि विश्रोई, मोहम्मद शिराज, प्रसिद्ध कृष्ण र आवेश खान रहनुभएको छ ।

यस्तै भारतको टी-२० टोलीमा रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), इशान किशन, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस ऐर, ऋषभ पन्त (विकेट किपर), वेंकटेश ऐर, दीपक चाहर, शार्दुल ठाकुर, रवि विश्रोई, अक्षर पटेल, युजभेन्द्र चहल, वासिन्टन सुन्दर, मोहम्मद शिराज, भुवनेश्वर कुमार, आवेश खान र हर्षल पटेल हुनुहुन्छ । यस्तै वेस्ट इन्डिजले केइरन पोलार्डको कप्तानीमा सिरिजका लागि टोली घोषणा गरेको छ । टोलीमा केमार रोचले पुनरागमन गर्नुभएको छ ।

वेस्ट इन्डिज टोलीमा केइरन पोलार्ड, फाबियन एलन, एनकुर्माह बोनर, डरेन ब्राभो, शामरह ब्रोक्स, जासन होल्डर, साई होप, अकिल होसेन, अल्जारी जोसेफ, ब्रान्डन किङ, निकोलस पुरण, केमार रोच, रोमारियो शेफर्ड, ओडिन स्मिथ र हायदेन वाल्श रहनुभएको छ ।