‘नेपालीलाई भिजिट भिसामा विदेश पुर्‍याएर अलपत्र बनाउने दलालहरूलाई पानीमुनि गए पनि छाेड्दैनाैँ’: मन्त्री श्रेष्ठ।

काठमाडौं := श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिसामा दुबई पु¥याउनेलाई कुनै हालतमा नछोड्ने बताउनुभएको छ । बिहीबार मन्त्रालयमा भिजिट भिसामा दुबई पुगेर दुःख पाएका पीडित युवाहरूसँगको छलफलका क्रममा उहाँले भिजिट भिसामा दुबई पुर्‍याइएका युवाहरूलाई नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

‘भिजिट भिसा’मार्फत युएई दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उहाँले जानकारी दिनुभयो । पछिल्लो एक वर्षमा मात्रै झण्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत युएई पुगेको अनुमान मन्त्रालयको छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘हामीले दलालहरूलाई, ठगहरूलाई तह लगाउने गरी मार्शल टिम गठन गरेका छौँ । म के चेतावनी दिन चाहन्छु भने अब पानीमुनि गए पनि अपराध गर्नेहरूलाई छोडिँदैन । कि आत्मसमर्पण गरेर आफूले गरेका गल्ती स्वीकार गरी झुक्याएर, ठगेर लगिएका नेपालीलाई छिटो भन्दा छिटो नेपाल पठाउँछु भन्नुपर्छ । मान्छेबाट गल्ती हुन सक्छ तर यो गल्ती स्वीकार गर्न सकिने गल्ती छैन । यूएईमा बसेर नेपाली सोझा मानिसलाई दुःख दिने काम गर्नेहरूलाई यो सरकारले छोड्ने छैन ।’