काठमाडौं:= गृह मन्त्रालयले भिजिट भिसा र त्यसबाट उत्पन्न हुने समस्याबारे अध्ययन गर्न समिति बनाएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा भिजिट भिसामा खाडी मुलुक गएर कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण तथा भिसाबाट उत्पन्न समस्याबारे अध्ययन गर्न समिति गठन भएको हो । बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै समिति गठन भएको जानकारी दिएको हो ।
‘नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबई लगायतका खाडी मुलुकमा गई विभिन्न कठिनाइ भोगिरहेको सन्दर्भको विश्लेषण गरी भिजिट भिसा र सोबाट सृजित समस्याको विषयमा अध्ययन गरी कार्यान्वयनको ठोस योजना पेश गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको छ,’ विज्ञप्तिमा भनिएको छ । समितिलाई भिसा उपलब्ध गराउन मापदण्ड बनाउन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार अन्तर्राष्ट्रिय उडान तालिका सुधार, ट्रान्जिटमा यात्रुहरूको व्यवस्थापन गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । त्यस्तै, श्रमिकहरू विदेशमा रहँदा भोगेका समस्या समाधान गर्नेलगायत विषयमा पनि सुझाव सहितको प्रतिवेदन पेश गर्न भनिएको छ । प्रतिवेदन १५ दिनभित्र पेश गर्न भनिएको छ ।
उक्त समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, नेपाल प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड समेतका प्रतिनिधि छन् । यसअघि मंगलबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा श्रम गन्तव्य मुलुकहरूमा समस्यामा परेका श्रमिकहरू, भिजिट भिसामा गई यात्रु अलपत्र पर्ने, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय विमानस्थलको संरचनात्मक सुधार तथा व्यवस्थापनलगयात विषयमा सरोकारवालाहरूसँग बैठक बसेको थियो ।




















