[ गोपीकृष्ण चापागाईं ]
काठमाडौं:= प्रायः कलाकारहरूको जमघट भइरहने अनामनगरको एक क्याफेमा भेटिएका एक कलाकार (गायक) लाई आफ्नो गीत युट्युब ट्रेन्डिङमा कसरी ल्याउने भनेर छलफल गरेको देखेँ । जति पैसा तिरेर भए पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आफ्नो गीतलाई ल्याउन कस्सिएका ती गायकले लाखौं पैसा तिर्न पनि तयार थिए । उनको जस्तै चाहना अहिले गीतसंगीतमा भिडियो बनाइरहेका अधिकांश कलाकारको छ ।
केही समय अघिमात्रै चर्चित स्टेज पर्फमर तथा गायक एवं मोडल दुर्गेश थापाले आफ्नो गीतलाई युट्युब ट्रेन्डिङमा ल्याउनका लागि भौतारिनुभएको थियो । सुरुवातका आफ्ना चर्चित आफ्नै नामको युट्युबमा अपलोड गर्नुभएका थापाले पछिल्लो समय उक्त च्यानलबाट भिडियोहरू ट्रेन्डिङमा आउन छाडेपछि ‘डि सिरिज’ नामको अर्को च्यानलनै किन्नुभयो । अहिले सार्वजनिक हुने जति पनि गीतहरू उक्त च्यानलमै अपलोड गर्ने गरेको देखिन्छ ।
कलाकारहरू आफ्नो भिडियो युट्युब ट्रेन्डिङमा आउनुलाई सफलता मान्ने गर्नुहुन्छ । गुगलले युट्युबको ट्रेन्डिङमा ५० वटा भिडियोको र्यांक देखाउने गर्दछ । भिडियो अपलोड गरेको छोटो समयमा नेपालबाट जति धेरै लाइक, भ्युज तथा प्रतिक्रिया र वाच टाइम धेरै भयो छिटो ट्रेन्डिङमा आउने गर्दछ ।
महिना दिनअघि सार्वजनिक भएको लोकप्रिय गायक पुस्कल शर्माको ‘तिम्रो थर मेरो थर’ बोलको गीत नेपालको युट्युब ट्रेन्डिङको ५०औं ट्रेन्डिङबाट भित्र पस्नुसाथ पुस्कलले सामाजिक सञ्जालमा पोष्ट गर्न थाल्नुभएको थियो । दर्शकलको मायाका कारण ट्रेन्डिङमा आयो भन्दै पुस्कलले २५औं, १२औं हुँदै १०औं टे«न्डिङमा आएको स्क्रिनसर्ट लगातार शेयर गरिरहनुभयो । उक्त भिडियोलाई तीन दिनमा ४ लाखले हेर्दा १०औं टे«न्डिङमा आएको थियो । अहिले उक्त भिडियोले ३२ लाखभन्दा बढी भ्युज पाएको छ ।
यस्तै धेरै कलाकार छन् जो आफ्नो भिडियो सामग्रीलाई युट्युब ट्रेन्डिङमा ल्याउन चाहन्छन् । नेपालमा विशेषगरी नेपालीसँगै हिन्दी भाषामा बनेका भिडियोहरू ट्रेन्डिङमा पर्ने गर्छन् । अधिकांश नेपालीले हिन्दी भाषा सहजै बुझने भएकाले हिन्दीमा बनेका सिरियल, चलचित्र तथा गीतका भिडियो छिटो नेपालको युट्युब ट्रेन्डिङमा आउने गरेको पाइन्छ । यस्तै बुधबार (माघ १२) साँझसम्मको नेपालको युट्युब टे«न्डिङलाई हेर्ने हो भने १०औं ट्रेन्डिङसम्म पाँचवटा नेपाली र पाँचवटा हिन्दी भाषाका भिडियोहरू देखिन्थ्यो । यस्तै २० वटा भिडियो लिस्टमा १० हिन्दी र नेपाली भाषाका दश/दश भिडियो थिए ।
प्रायः नेपाली तथा हिन्दी चलचित्रहरू युट्युबमा सार्वजनिक हुनासाथ ट्रेन्डिङमा आउने गरेको पाइन्छ । हिन्दी चलचित्रले पनि सजिलै नेपालको युट्युब ट्रेन्डिङ कब्जा गर्ने गरेका छन् । अहिले ट्रेन्डिङमा हेर्ने हो भने आठवटा साउथ इण्डियन चलचित्र छन् । युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ भने नेपाली भिडियोले नै कब्जा जमाएको छ । हाँस्य टेलिसिरियल ‘हर्के हल्दार’ले पहिलो स्थान सुरक्षित गरेको छ । यस्तै दोस्रो स्थानमा पनि भारतकै ‘थिरिमली’ चलचित्रको ‘रंग बिरंगी’ बोलको अफिसियल गीतको भिडियो सुरक्षित छ । यो चलचित्रको सार्वजनिक गीतमा नेपाली नायिका स्वस्तिमा खड्काको नृत्य भएकाले पनि नेपाली दर्शकले अझ बढी हेरेको पाइन्छ ।
तेस्रो स्थानमा भने सुशान्त केसीको ‘रिसाउने भए’ बोलको गीत बसेको छ । यस्तै चौथो स्थानमा एक विदेशी सर्ट भिडियो देख्न सकिन्छ । पाँचौं स्थानभने गायक सुनिल गिरीको ‘को होला त्यो २’को फिमेल भर्जनले ओगटेको छ । यस्तै छैटौं स्थानमा भने भारतका कमेडियन युट्युबर क्यारिमिनाटीको एक भिडियो देख्न सकिन्छ । सातौं स्थानमा हिन्दी भाषामा डब गरिएको दक्षिण भारतीय चलचित्र ‘दमदार खिलाडी २’ र आठौं स्थानमा अर्को दक्षिण भारतीय चलचित्र ‘गार्जि रेड्डी’ रहेको छ । नवौं स्थानमा नेपालको रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’को पहिलो इपिसोड रहेको छ भने दशौं स्थानमा पनि भारतको एक कमेडी भिडियो देख्न सकिन्छ । यसरी नेपालको युट्युब टे«न्डिङको दशौं स्थान सम्म हेर्दा ६ वटा विदेशी भिडियो सामग्री नै देखिन्छन् ।
हिन्दी भाषामा बनेका चलचित्रले नेपाली बजारमा ठूलो ठाउँ पाइरहेको देखिन्छ । चाहे सिनेमा हलमा होस् या युट्युबमा होस् हिन्दी भाषाका चलचित्रले नेपाली दर्शकको साथ पाएको हुन्छ । हिन्दी भाषामा डब गरिएका साउथ इण्डियन चलचित्र पनि सजिलै नेपालको युट्युब ट्रेन्डिङमा पर्ने गरेका छन् । दशौं स्थानसम्म दुईवटा साउथ इण्डियन चलचित्र परे भने १०औं स्थानमा पनि साउथ इण्डियन चलचित्र ‘महारक्षक २’ छ । यस्तै १३औं स्थानमा साउथ इण्डियन चलचित्र ‘चेक’ रहेको छ । यस्तै १५औं स्थान पनि हिन्दी भाषाकै चलचित्र ‘दोस्ताना’ले कब्जा जमाएको छ । यस्तै १८औं स्थानमा हिन्दी भाषाकै साउथ इण्डियन चलचित्र ‘गरम’ रहेको छ । १९औं स्थान पनि अर्को साउथ इण्डियन चलचित्र ‘गिफ्ट’ले सुरक्षित गरेको छ । यस्तै ३४औं स्थानमा ‘रूपोस’ नामको टेलिचलचित्र बसेको छ ।
पछिल्लो साता नेपाली चलचित्र युट्युबमा अपलोड नभएकाले पनि ट्रेन्डिङमा देखिँदैनन् । नेपालमा बनेका चलचित्र युट्युबको टे«न्डिङमा सजिलै आएको देखिन्छ तर म्युजिक भिडियो टे«न्डिङमा आउन सकस परेको देखिन्छ । कतिपय निकै हिट कलाकारका भिडियो सजिलै ट्रेन्डिङमा परेपनि नयाँ कलाकारले भने आफ्नो भिडियो ट्रेन्डिङमा पर्नु ठूलो उपलब्ध मान्ने गरेका छन् ।




















