जनकपुरधाम:= सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा आठवटा सरकारी गाडीमा तोडफोड गरेर क्षति पु¥याएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार भएको राष्ट्रियसभा चुनाव बिथोल्ने उद्देश्यले गरिएको प्रदर्शनको क्रममा जनमतका कार्यकर्ताले सो सरकारी गाडीहरू तोडफोड गरेर क्षति पु¥याएका हुन् ।
मतदान केन्द्र महेन्द नारायण स्मृति भवनको चारैतर्फको चौकहरू भैरव चौक, मुरलीचौक, मालपोत कार्यालय, कदमचौक, रामचौक, जनकचौक र जानकी चौकसहितका चौकहरूमा लाठी चिर्पटसहित रहेका जनमतका कार्यक्रताहरूले ६ वटा सरकारी नम्बर प्लेटका गाडीसहित कुल आठवटा गाडीमा क्षति पुर्याएका छन् ।
सरकारी नम्बर प्लेकटको गाडी देख्नेबित्तिकै जाइलागेका जनमतका कार्यकर्ताहरू सुरुमा मतदान केन्द्रतर्फ पनि अगाडि बढ्न चाहँदा प्रहरीले रोकेका थिए । त्यसपछि जनकपुरधामको चोक–चोकमा जम्मा भएका प्रदर्शनकारीहरू प्रदेश सांसद, पालिका प्रमुख उपप्रमुखसहित सरकारी नम्बर प्लेटका गाडीहरूमा धमाधम तोडफोडमा उत्रेका थिए ।
सो क्रममा उनीहरूले जसपाका प्रदेश सांसद तथा विकास समितिका सभापति अशोक यादव र अर्का सांसद मनिष सुमन चढेको गाडीमा तोडफोड गरेका थिए । सांसद यादवको हातमा चोट लागेको र उहाँको उपचार भइरहेको छ । यस्तै, सर्लाही हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाईं र उपप्रमुख रेणुका पौडेल चढेको सरकारी नम्बर प्लेटको गाडीमा समेत तोडफोड गरिएको छ भने उहाँहरू सामान्य घाइते हुनुभएको छ ।
जनकपुरधामको पिडारीचौकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिशकुमार साह चढेको गाडीमाथिसमेत उनीहरूले आक्रमण गर्र्दा डा. साहको देब्रे गालामा मुखको भित्रपट्टिबाट आठ वटा टाँका लागेको छ भने गाडीमा क्षति भएको छ । एक कार्यक्रममा बर्दिबास जाँदै गर्दा उहाँ प्रदर्शनकारीको चपेटामा पर्नुभएको हो । साथै जनमतले गणेशमान चारनाथकी उप्रमुख चेढेकी गाडी, चन्द्रनिगाहपुर स्थित सडक डिभिजनको गाडीसहित सरकारी र निजीगरी आठवटा गाडीमा तोडफोड गरेको धनुषा प्रहरीले जनाएको छ ।
बुधबार बिहानैदेखि जनमतका नेता कार्यकर्ताहरूले गरेको प्रदर्शन र भएको झडपपछि जनकपुरधाममा मतदान गर्न आउने मतदाताहरू त्रसित भएका थिए । मुख्यमन्त्री, मन्त्री, सांंसदसहितका मतदाताहरूलाई प्रहरीले आलोपालो स्कटिङ गरेर मतदान केन्द्र पुर्याउने र छोड्ने काम गरेको देखिन्थ्योे ।
जनमतका कार्यकर्ताले किसान आन्दोलनको निर्धारित कार्यक्रमअन्तर्गत जनकपुरधामस्थित महेन्द्रनरायण निधि भवनमा राखिएको मतदान केन्द्र अगाडि ‘पहिला मल देऊ, त्यसपछि मत खसाल’ भन्दै प्रदर्शन गरेका थिए । प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
मधेश सरकारको मुख्यालय केन्द्रित प्रदर्शन गरेका जनमत पार्टीका कारर्यकर्ता पछि मुख्यमन्त्री कार्यालयमा किसान आन्दोलनको ज्ञापनपत्र बुझाएपछि शान्त बनेका थिए । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले आफूले मुख्यमन्त्रीसँग ज्ञापनपत्र बुझिलिन पटक-पटक आग्रह गरे पनि बुझ्न नचाहेपछि मतदान केन्द्रमा रहेको मुख्यमन्त्रीलाई त्यहीँ ज्ञापनपत्र बुझाउन जाने क्रममा प्रहरीले बल प्रयोग गरेको बताउदै आफ्ना ६ जना कार्यकर्ता घाइते भएको बताउनुभयो ।
बुधबारको जनकपुरधाम केन्द्रित आन्दोलनको अगुवाई गर्नुभएका जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष ई. वसन्त कुशवाहा, जनमत पत्रकार संघका केन्द्रीय अध्यक्ष बिपी साह सहितकाले मुख्यमन्त्री कार्यालयमा एक शाखा अधिकृतलाई ज्ञापनपत्र बुझाएका थिए ।




















