काठमाडौं:= मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार मौरिससविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गर्नुभएको हो । प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणमा रहेका सबै ३४ खेलाडीलाई समेट्दै दुईवटा टोली घोषणा गर्नुभएको हो । प्रशिक्षक अलमुताइरीले शनिबार र मंगलबार हुने दुई मैत्रीपूर्ण खेलका लागि दुई टोली घोषणा गर्नुभएको हो ।
अलमुताइरीले खेलाडीमा अन्तर्राष्ट्रिय खेलको अनुभव थप्नका लागि सबै खेलाडीलाई मौका दिन लागेको बताउनुभयो । ‘म खेलाडीले अन्तर्राष्ट्रिय खेलको अनुभव बोकेको हेर्न चाहन्छु,’ उहाँले भन्नुभयो, ‘यसले खेलाडीलाई भविष्यमा अन्तर्राष्ट्रिय खेलका लागि तयार गर्छ । म नतिजाभन्दा पनि राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु ।’
अलमुताइरीले घोषणा गरेको पहिलो खेलको गोलरक्षकमा किरण चेम्जोङ, दीप कार्की र टिकेन्द्र थापा, डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र सुमन अर्याल, मिडफिल्डरमा सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, आकाश बुढा मगर, नितिन थापा र फरवार्डमा अञ्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, सुनिल बल, जगजित श्रेष्ठ, कृतिशरत्न छुन्जु र दर्शन गुरुङ रहनुभएको छ ।
यस्तै दोस्रो खेलका लागि घोषित टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ र शत्रुघन चौधरी, डिफेन्डरमा गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, नवीन गुरुङ र अनन्त तामाङ, मिडफिल्डरमा सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, आशिष राई, एरिक विष्ट, सन्तोष तामाङ, सुभाष गुरुङ, पुजन उपरकोटी र फरवार्डमा अञ्जन विष्ट, आशिष लामा, विमल घर्ती मगर, सुशील राई, प्रशान्त अवस्थी रहनुभएको छ ।
दर्शकलाई प्रवेश दिइने
नेपाल र मौरिससको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण दैनिक १० हजार बढीलाई संक्रमण देखिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले दर्शकका लागि प्रवेश दिने निर्णय गरेको हो ।
नेपाल र मौरिससबीच शनिबार र मंगलबार दुई मैत्रीपूर्ण खेल हुनेछ । खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ । त्यसका लागि मौरिसस टोली सोमबार काठमाडौं आइसकेको छ ।
एन्फाका अनुसार दशरथ रंगशालाको सिट क्षमताको एक तिहाइ सिटमा दर्शकलाई प्रवेश दिइनेछ । रंगशालाको दर्शक क्षमता १६ हजार ५०० रहेको छ । उक्त सिट क्षमतामा झण्डै पाँच हजार दर्शकलाई प्रवेश दिइने एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
एन्फाले रंगशालाको भिआइपीतर्फ प्रतिटिकट एक हजार र साधारणतर्फ ५०० रुपैयाँ तोकेको छ । स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गरिने खेलमा दर्शकले अनिवार्यरूपमा खोप लगाएको कार्ड लिएर आउनुपर्ने एन्फाले जनाएको छ ।
यता नेपाल आइपुगेको मौरिससको टोलीका चारजना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । मौरिससको राष्ट्रिय टोली सोमबार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परीक्षणमा चार खेलाडीमा संक्रमण देखिएको हो । यसरी संक्रमण देखिने खेलाडीहरूमा लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केल्र्सन अगाथे र हान्स पटाटे हुनुहुन्छ ।
उहाँहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र होटल आइसोलेसनमा रहनुभएको एन्फाले जनाएको छ । उहाँहरूको नेपालविरुद्धको खेलमा उत्रिने सम्भावना न्यून छ । यता नेपाली टोली नियमित अभ्यासमा रहेको छ । टोलीका सदस्यलाई हालसम्म संक्रमण नदेखिएको एन्फाले जनाएको छ ।
फिफा वरीयतामा नेपालभन्दा मौरिसस केही पछाडि रहेको छ । नेपाल १६९औँ र मौरिसस १७२औँ स्थानमा छ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
माल्दिभ्समा असोजमा भएको साफ च्याम्पियनसिपयता नेपाली टोलीले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन । त्यतिबेला पहिलोपटक नेपाली टोली फाइनल पुगेको थियो । नेपालले साफअघि घरेलु मैदानमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसबेला नेपालले एक बराबरी र एक हारको नतिजा निकालेको थियो ।




















