काठमाडौं:= राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार सत्तापक्षीय गठबन्धनबाट १८ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट एक जना उम्मेदवार विजयी भएका छन् । प्रदेश नम्बर . १ नम्बर प्रदेशमा अल्पसंख्यकतर्फ एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएसँगै गठबन्धनको ‘क्लीन स्वीप’ योजना भने विफल भएको हो ।
सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका पाँच-पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एक उम्मेदवार विजयीभएका छन् । यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए । तर, प्रदेश १ मा गठबन्धन बाट जसपाका उम्मेदवार हेमराज राई पराजित हुनुभएको छ । अपांगता वा अल्पसंख्यक तर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित हुनुभएको हो ।
निर्वाचन भएका १९ पदमा एमालेका आठ, एकीकृत समाजवादी र माओवादी केन्द्रका चार-चार र कांग्रेसका तीन सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । तर, यो निर्वाचनबाट एमालेले आठमध्ये एक पदमात्रै जोगाउन सकेको छ भने सात पद गुमाएको छ । सात पद कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले लिएका छन् ।
राष्ट्रिय सभामा अब कांग्रेसले तीन, माओवादी केन्द्र र एकीकृत समाजवादीले एक–एक र जसपाले एक सिट बढाएका छन् । तर, अझै पनि राष्ट्रिय सभाको पहिलो ठूलो दल भने एमाले नै रहनेछ । हाल राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । अब सात गुमाएर पनि एमाले १७ सिटसहित पहिलो ठूलो दल बनेको छ । यससँगै माओवादी केन्द्रले १५ सिट पुर्याएको छ भने कांग्रेसले १० सिट पुर्याएको छ ।
त्यस्तै, एकीकृत समाजवादीले आठ र जसपाले तीन सिट पुर्याएका छन् । राष्ट्रिय जनमोर्चा भने पहिलो पटक राष्ट्रिय सभामाप्रवेश गरेको छ । २०५१ सालदेखि संसदीय राजनीतिमाप्रवेश गरेको जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामापुगेको हो । लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनुभएको हो । प्रदेश १ मामहिलातर्फ एकीकृत समाजवादीकी जयन्तीदेवी राई र कांग्रेसका गोपालकुमार बस्नेत विजयी हुनुभएको छ ।
यस्तै, मधेस प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका महम्मद खालिद सिद्धिकी निर्वाचित हुनुभएको छ । वागमती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित हुुनुभएको छ । यस्तै, गण्डकी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादी केन्द्रका भुवनबहादुर सुनार र सुरेश आलेमगर निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा, एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनुभएको छ । कर्णालीप्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेसकी दुर्गा गुरुङ र माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदय बोहरा निर्वाचित हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनबाट कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगतबहादुर पार्की र एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार १९ पदका लागि ४३ जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आगामी फागुन २१ गते सकिँदैछ ।
त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य छन् । बाँकी १९ पदका लागि निर्वाचन भएको थियो । राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था बमोजिम राष्ट्रिय सभामा सिट खाली हुनुअघि नै निर्वाचन भएको हो ।
क-कसको पदावधि सकिँदैछ ?
यसपटक प्रदेश १ बाट एमालेका परशुराम मेघी गुरुङ र नैनकला दाहाल, मधेश प्रदेशबाट सुमन प्याकुरेल र शशिकला दाहाल, वागमतीबाट राधेश्याम अधिकारी र उदया शर्मा पौडेल, गण्डकीबाट दिनानाथ शर्मा र शान्तिकुमारी बिसी, लुम्बिनीबाट दृगनारायण पाण्डे र कोमल वली, कर्णालीबाट खगेन्द्र पुरी र कविता बोगटी तथा सुदूरपश्चिमबाट शेरबहादुर कुँवर र तारादेवी भट्टको पदावधि सकिँदैछ ।
समावेशी दलित समूहतर्फ गण्डकी प्रदेशबाट खिमकुमार विक, सुदूरपश्चिमबाट चक्रप्रताप स्नेही र लुम्बिनीबाट रामलखन चमार तथा अपांगता वा अल्पसंख्यकतर्फ कर्णालीबाट जीवन बुढा र प्रदेश १ बाट अगम वान्तावाको पदावधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनितभएका रामनारायण विडारीको पदावधि पनि यसैपटक सकिँदैछ ।
५९ सदस्यीय राष्ट्रिय सभामा सदस्यहरूको कार्यकाल ६ वर्ष हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ । यसपटक २० जनाको पदावधि सकिनै लाग्दा राष्ट्रपतिबाट मनोनित हुने बाहेकका १९ सीटका लागि निर्वाचन भएको हो ।




















