काठमाडौं:= नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार १२औं जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै हाल नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो । गत भदौ ३० देखि असोज १८ गत र कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरेर दुई चरणमा सम्पन्न भएको जनगणनाले अघिल्लो जनगणना २०६८ को तुलनामा २७ लाखले जनसंख्या बढेको देखाएको छ ।
तर, जनसंख्या बढेको देखिए पनि यो जनगणनाबाट नेपालको जनसंख्या वृद्धिदरमा भने गिरावट आएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । पछिल्लो १० वर्षमा नेपालको सरदर वार्षिक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको देखिन्छ । अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेको थियो । राष्ट्रिय जनगणना २०७८ ले नेपालमा पुरुषको भन्दा महिलाको संख्या ६ लाख ९ हजार ८५८ जनाले बढी रहेको देखाएको छ ।
कुल जनसंख्यामध्ये महिलाको संख्या ५१ प्रतिशत छ । अर्थात् महिलाको कुल संख्या एक करोड ४९ लाख एक हजार १६९ छ। यस्तै, पुरुषको संख्या ४८.९६ अर्थात् एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । १० वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्याको ५१.५ प्रतिशत महिला र ४८.५ प्रतिशत पुरुष थिए । यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।
नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार रहेको थियो । नेपालमा हरेक १०÷१० वर्षमा राष्ट्रिय जनगणना गरिँदै आएको छ । यसपटकको नतिजामा अन्य लिङ्गीहरू समेटिएका छैनन् । विभागले जनगणनाको पहिलो चरणमा संकलित अन्य लिङ्गीहरूको तथ्यांक आगामी आठदेखि नौ महिनाभित्र सार्वजनिक गरिने जानकारी दिएका छन् ।
यस्तै, जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्यांक सार्वजनिक भएको छ । एक दशकअघि नेपालको जनघनत्व १८१ जना प्रतिवर्गकिलोमिटर थियो । बुधबार सार्वजनिक तथ्यांकअनुसार विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
कति छ घरपरिवार ?
राष्ट्रिय जनगणना २०७८ ले नेपालमा कुल ६७ लाख ६१ हजार ०५९ वटा परिवार रहेको देखाएको छ । यो परिवार ५६ लाख ४३ हजार ९४५ वटा घरमा बसेको देखाएको छ । औसत १० वटा घरमा १२ वटा परिवार बसिरहेको जनगणनाबाट देखिएको विभागले जनाएको छ । १० वर्षअघि २०६८ सालको तुलनामा अहिले परिवारको संख्या २४.५७ प्रतिशतले बढेर १३ लाख ३३ हजार ७५७ वटा नयाँ परिवार थपिएको देखिन्छ ।
यस्तै, अहिले नेपालको शहरी क्षेत्रको एउटा परिवारमा ४.३२ जना सदस्य र ग्रामीण क्षेत्रको परिवारमा ४.५५ जना सदस्य बसोबास गरेको देखाएको छ । १० वर्षअघि शहरी क्षेत्रमा एउटै परिवारमा ४.८८ जना र ग्रामीण क्षेत्रमा ५.०२ बसोबास गर्ने देखिएको थियो । प्रदेशगत आधारमा परिवारमा औसत सदस्य गण्डकीमा सबैभन्दा कम र मधेश प्रदेशमा सबैभन्दा बढी ५.६६ जना छन् । यस्तै, जिल्लागत आधारमा हेर्दा दोलखामा सबैभन्दा कम ३.५१ जना र सबैभन्दा बढी रौतहटमा ५.९२ जना बसोबास गर्ने गरेको देखाएको छ ।
कुन प्रदेशका कति जनसंख्या ?
राष्ट्रिय जनगणना २०७८ ले नेपालका सात वटा प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या रहेको देखाएको छ । मधेशमा कुल जनसंख्यामध्येको ६१ लाख २६ हजार २८८ जना बसोबास गर्ने देखाएको छ । मधेशपछि दोस्रो धेरै जनसंख्या भएको प्रदेश बागमती रहेको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशको जनसंख्या जम्मा १६ लाख ९४ हजार ८८९ रहेको पाइएको छ ।
यसअवधिमा वार्षिक जनसंख्या वृद्धिदर लुम्बिनीमा सबैभन्दा बढी १.२५ प्रतिशत प्रतिवर्ष र गण्डकीमा सबैभन्दा कम ०.३० प्रतिशत प्रतिवर्ष रहेको छ । दास्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर मधेश प्रदेशमा १.२० प्रतिशत प्रतिवर्ष रहेको सार्वजनिक जनगणनाको नतिजाले देखाएको छ । अन्य प्रदेसहरूको जनसंख्या वृद्धिदर भने प्रतिवर्ष एक प्रतिशतभन्दा कम रहेको पाइएको छ ।
कुन शहरको जनसंख्या कति ?
संघीय राजधानी काठमाडौं जिल्लामा सबैभन्दा बढी मानिस बसोबास गर्ने गरेको पाइएको छ । काठमाडौ जिल्लामा मात्रै २० लाख १७ हजार ५३२ जना बसोवास गर्ने गरेको तथ्यांकले देखाएको छ । सबैभन्दा कम मनाङ जिल्लामा जम्मा पाँच हजार ६४५ जना मानिस बसोबास गर्ने गरेको देखिएको छ । काठमाडौंपछि सबैभन्दा धेरै जनसंख्या हुने जिल्लामा क्रमशः मोरङ, रुपन्देही, झापा, सुनसरी रहेका छन् भने कम जनसंख्या हुने जिल्लाहरूमा मनाङपछि क्रमशः मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला रहेका छन् ।
जिल्लागत जनसंख्या वृद्धिको अनुपात हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । १० वर्षअघि २७ वटा जिल्लामा मात्रै जनसंख्या वृद्धिदर ऋणात्मक थियो । बुधबार सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या वृद्धि हुने जिल्लामा भक्तपुर ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछापमा १.६५ प्रतिशत छ ।
हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी १.८० प्रतिशतले वृद्धि देखिएको छ । सबैभन्दा ऋणात्मक वृद्धिदर रामेछाम जिल्लामा– १.६५ प्रतिशत छ । सवैभन्दा कम जनसंख्या वृद्धि हुनेमा रामेछापसहित खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । रुपन्देही, चितवन, बाँके र सुनसरी जिल्ला पनि बढी वृद्धिदर भएका जिल्ला हुन् । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी (१.८० प्रतिशत) वार्षिक जनसंख्या वृद्धिदर देखिएको छ ।
सबैभन्दा धेरै र थोरै जनसंख्या भएका गाउँ-नगरमा
राष्ट्रिय जनगणना २०७८ ले बाँकेको बैजनाथपुर गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका पाँच गाउँपालिकाहरूमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी छन् । सबैभन्दा कम जनसंख्या भएका पाँच गाउँपालिकाहरूमा मनाङको नार्पा भूमि, मुस्ताङको लो–घेकर दामोदरकुण्ड, मनाङको मनाङ ङिस्याङ र नासोँ गाउँपालिका छन् ।
सबैभन्दा धेरै जनसंख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ र सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्पाभूमि गाउँपालिकामा ४४२ रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । जनगणनाअनुसार १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ छ भने ५० हजारभन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ रहेको छ ।
बुधबार सार्वजनिक राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका पाँच नगरपालिकाहरूमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् । सबैभन्दा कम जनसंख्या भएका पाँच नगरपालिकाहरूमा डोल्पाको ठूलीभेरी र त्रिपुरासुन्दरी, संखुवासभाको मादी, तेह्रथुमको लालिगुराँस र दोलखाको जिरी नगरपालिका रहेका छन् ।
सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा आठ लाख ६५ हजार ९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ । विभागका अनुसार २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ छ भने एक लाखभन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।
शहरी जनसंख्यामा तीव्र वृद्धि
बुधबार सार्वजनिक २०७८ सालको जनगणनाको तथ्यांक हेर्दा शहरी क्षेत्रमा बसोवास गर्नेको संख्यामा तीव्र वृद्धि भइरहेको देखिएको छ । अघिल्लो जनगणना २०६८ मा शहरी क्षेत्रमा बसोवास गर्ने जनसंख्या जम्मा १७ प्रतिशत र ग्रामीण भेगमा ८२ प्रतिशत बसोवास गर्ने देखाएको थियो । तर, १० वर्षपछि शहरी क्षेत्रमा बसोवास गर्ने जनसंख्या ६३ प्रतिशत र ग्रामीण भेगमा ३६ प्रतिशत जनसंख्या मात्रै बसोवास गर्ने देखाएको छ ।
जनघनत्वमा वृद्धि-जनसंख्याको विवरणमा तराई क्षेत्रको हिस्सा बढ्दै
नेपालको प्रतिवर्ग जनघनत्व १८ जना बढेको पाइएको छ । यो वर्षको जनगणनाअनुसार नेपालमा प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १९८ जना बसोबास गर्छन् । यो १० वर्षअघि जम्मा १८० प्रतिवर्ग किलोमिटर रहेको थियो । सबैभन्दा बढी जनघनत्व तराईमा प्रतिवर्ग किलोमिटर ४६१ र सबैभन्दा कम हिमाली जिल्लामा प्रतिवर्ग किलोमिटर ३४ जना छन् । यस्तै, जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा ठूलो दरमा बढ्दै गर्दा हिमाली र पहाडी क्षेत्रको हिस्सा खुम्चिँदै जान थालेको
बुधबार सार्वजनिक जनगणनाको तथ्यांकले देखाएको छ । विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्नेको संख्या कुल जनसंख्याको २३ लाख ४७ हजार १२३ जनाले बढेको छ । १० वर्षमा पहाडी क्षेत्रमा तीन लाख ५४ हजार ५४१ जनाले जनसंख्या बढ्दा हिमाली क्षेत्रमा तीन हजार ६८८ जना जनसंख्या कम भएको छ । १० वर्षमा कुल जनसंख्या २६ लाख ९७ हजार ९७६ बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ भने पहाडको वृद्धिदर कमजोर हुँदा हिमालमा जनसंख्या वृद्धिदर नै ऋणात्मक देखिएको छ ।
भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८ मा ३.३९ प्रतिशतले वृद्धि भएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । २०६८ मा एक करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा अहिले एक करोड ५६ लाख ६५ हजार पुगेको छ । १० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशतमा झरेको छ ।
हिमाली भेगमा १७ लाख ८१ हजार रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७८ हजारमा झरेको छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेको कुल जनसंख्याको हिस्सा हाल २०७८ मा ४०.२५ प्रतिशतमा झरेको छ । १० वर्षअघि एक करोड १३ लाख ९४ हजार रहेको पहाडी क्षेत्रको जनसंख्या एक करोड १७ लाख ४८ हजार भएको छ । तर, कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिएको छ ।
लिपुलेक कालापानी क्षेत्रको जनसंख्या कति ?
केन्द्रीय तथ्यांक विभागले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना भौतिक उपस्थितिमा हुन नसके पनि अनुमानित जनसंख्या आंकलन गरेको जनाएको छ । विभागले तत्काल पालिकागत जनसंख्या मात्र सार्वजनिक गरिएको र वडा तहको पछि मात्र प्रकाशन गर्ने जनाएको छ । विभागका अनुसार कालापानी क्षेत्रको जनसंख्या करिव ६०० जना रहेको छ ।
२०१८ सालको छैटौं राष्ट्रिय जनगणनापछि ती भूभागमा जनगणना हुन सकेको छैन् । अहिले लिम्पियाधुरा क्षेत्र भारतीय सेनाको कब्जामा छ । त्यतिबेलाको जनगणनामा डोटी, बैतडी र डडेल्धुरा जिल्लाको जोनल अफिसरका रूपमा खटिनुभएका वरिष्ठ पत्रकार भैरव रिसालका अनुसार लिम्पियाधुरा क्षेत्रका मानिसको संख्या एक हजार ५०० जनाको हाराहारीमा थियो ।
विदेशमा २१ लाख नेपाली
बुधबार सार्वजनिक २०७८ को जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल २१ लाख ६९ हजार ४७८ जना नेपाली विदेशमा रहेको पाइएको छ । योमध्ये १७ लाख ६३ हजार ३१५ पुरुष र चार लाख ६ हजार १०३ जना महिला विदेशमा रहेको देखाएको छ ।
१० वर्षअघिको जनगणनामा विदेशमा बसोबास गर्ने नेपालीको संख्या १९ लाख २१ हजार ४९४ देखाएको थियो। नेपालका ७७ वटै जिल्लाबाट नेपालीहरू विदेसिएको तथ्यांकले देखाएको छ । जसमध्ये सबैभन्दा बढी विदेशिनेमा क्रमशः काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन् भने सबैभन्दा कम क्रमशः मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङवासी रहेका छन् ।
कहिले आउँछ अन्तिम नतिजा ?
कोरोना संक्रमण महामारी लम्बिएन भने करिब आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुने र अन्तिम नतिजाका लागि भने अझै बढी समय लाग्ने विभागले जनाएको छ । हाल केन्द्रीय तथ्यांक विभागले जनगणनाको लगत प्रशोधन गर्नका लागि आवश्यक जनशक्ति आह्वान गरेको छ । कुल चार सय कर्मचारी माग गरिएकोमा एक हजार ७०० जनाले आवेदन पेश गरेको विभागले जनाएको छ ।




















