मुम्बई := दक्षिण भारतीय सुपरस्टार थलापति विजयको नेपालमा पनि थुप्रै फ्यान छन् । विशेषगरी नेपालमा पनि दक्षिण भारतीय चलचित्र निकै हेर्ने गरिन्छ । त्यसपछि विजयका चलचित्र पनि नेपालको युट्युबबाट निकै हेर्ने गरेको तथ्यांक छ । उहाँका चलचित्र नेपालको युट्युब टेन्ड्रिको शीर्षस्थानमा धेरैपटक आएका छन् । विजयले एक चलचित्रका काम गरेको कति लिनुहुन्छ होला ? यो जिज्ञासा सायद धेरैको मनमा हुनसक्छ ।
चलचित्र ‘मास्टर’बाट दर्शकमाझ अझ फरक पहिचान बनाउनुभएका विजयको आगामी चलचित्र ‘विष्ट’ आउने तयारीमा छ । समाचार अनुसार यो चलचित्रमा विजयले सय करोड रुपैयाँ पारिश्रमिक लिनुभएको छ । उहाँको यो पारिश्रमिक चलचित्रको बजेटको आधाभन्दा बढी हो ।
सन् २०२१ को मार्चमा ‘विष्ट’को घोषणा गरिएको थियो । चलचित्रको निर्देशन नेल्सन दिलीपकुमारले गरिरहनु भएको छ । चलचित्रमा विजयसँग प्रमुख भूमिकामा पूजा हेगडेको अभिनय छ । एक्सन थ्रिलरको यो चलचित्र यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदैछ । थलापति विजयले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिनुभएको थियो ।
यद्यपि ‘विष्ट’का निर्माताद्वारा विजयको पारिश्रमिक विषयमा पुष्टि गरिएको भने छैन । तर अभिनेताले भने एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको खुलाउनुभएको थियो ।




















