काठमाडौं:= राजस्व अनुसन्धान विभागले विदेशी मुद्राको अवैध कारोबार गरेको अभियोगमा विभिन्न व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । कैलाली लम्कीचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङटोल बस्ने दिनेश खड्का, दिनेश खड्काकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्का र दिनेश खड्काकी केटी साथी अनिता धितालविरुद्द मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
दिनेश खड्का, दिनेश खड्काकी दिदी भगवती खड्का तथा बुबा नरबहादुर खड्काको वयान, विभिन्न बंैकका बंैक स्टेटमेन्ट, बरामद गरिएका मोबाइलमा प्राप्त मिसिल संलग्न डाटालगायत कल डिटेल विवरणसमेतका मिसिल संलग्न प्रमाणबाट दिनेश खड्कासमेत सामूहिकरूपमा मिलेमतो गरी मोबाइल एप्स इ स्क्रिला वाइनान्स प्रयोग गरी (क्रिप्टोकरेन्सी) विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको तथा उनकी दिदी भगवती खड्का, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत संलग्न रही सामूहिकरूपमा काठमाडौंको कालोपुलसमेतमा डलरको अनलाइनमार्फत् अवैधरूपमा कारोबार गरेको पाइएको विभागले जनाएको छ ।
दिनेश खड्काले उक्त एपमार्फत् रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी दिनेश खड्काको ग्लोबल बैंकबाट नौ करोड ७९ लाख ९८ हजार पाँच सय ८१ रुपैयाँ ७७ पैसा, अनिता धितालको लक्ष्मी बैंकसमेतबाट पाँच करोड ७७ लाख छ हजार आठ सय २६ रुपैयाँ ५१ पैसा, भगवती खड्काको एनआइसी एसिया बैंकबाट २० करोड ८२ लाख ९४ हजार पाँच सय २६ रुपैयाँ, नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ ३५ पैसा गरी कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय रुपैयाँको नेपाल राष्ट्र बैंकको तत्कालीन सूचनाअनुसार एक अमेरिकी डलरको एक सय २० रुपैयाँ ३४ सेन्टको कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सयको हुन आउने अमेरिकी डलर ३१ लाख २७ हजार आठ सय ९६ रुपैयाँ ७९ सेन्ट बिगो जफत गरी तीन वर्षसम्मको कैद सजायसमेत माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले पनि आइतबार एक सूचनामार्फत् क्रिप्टोकरेन्सी, हाइपर फन्डजस्ता भर्चुअल करेन्सीमा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराएको थियो । सरकारले नै कानुनीरूपमा अनुमति नदिएको ठाउँमा लगानी नगर्न सचेत गराउँदै कसैले कारोबार गरेको पाइएमा तत्काल कारबाही गर्ने चेतावनीसमेत दिएको थियो ।
नेपालमा विदेशी विनिमय वा मुद्राका रूपमा भर्चुअल करेन्सीले कानुनी मान्यता नपाएको र भर्चुअल करेन्सीले स्वदेशी मुद्रा पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकले समेत त्यस्तो कार्य गरेको वा गराइएको पाइएमा कानुनबमोजिम कारबाही गरिने राष्ट्र बैंकको भनाइ छ ।




















