लण्डन:= इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डले मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको छ । क्लबले लगातारको खराब प्रदर्शनपछि रानिएरीलाई बर्खास्त गरेको हो । उहाँ चार महिनामै बर्खास्तीमा पर्नुभएको हो ।
वाट्फोर्डले मुख्य प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गर्दै रानिएरीलाई चार महिनाअघि टोलीको नेतृत्व सुम्पिएको थियो । ७० वर्षीय इटालियन प्रशिक्षक रानिएरीले लेस्टर सिटीलाई सन् २०१५-१६ को सिजन प्रिमियर लिगको उपाधिसमेत दिलाउनुभएको थियो । त्यसबेला चर्चामा आउनुभएका रानिएरीको प्रदर्शन यसपटक भने फिक्का रहृयो ।
उहाँको प्रशिक्षणमा वाट्फोर्डले १४ खेल खेल्दा ११ मा हार बेहोरेको थियो भने दुई खेलमा मात्रै जित हात पार्न सकेको थियो । एक खेल भने बराबरीमा टुंगिएको थियो। टोलीले प्रिमियर लिगको पछिल्लो आठ खेलबाट एक अंकमात्रै जोड्न सकेपछि प्रशिक्षक बर्खास्तीमा पर्नुभएको हो । टोली अहिले दुई खेल बाँकी रहँदाको अवस्थामा रेलिगेसन जोनको टोलीभन्दा दुई अंकले तल रहेको छ ।
उहाँ मुख्य प्रशिक्षकमा नियुक्त भएसँगै भएको पहिलो खेलमै वाट्फोर्डले लिभरपुलसँग ५–० को लज्जास्पद हार बेहोरेको थियो । वाट्फोर्ड एफए कपको तेस्रो चरणमा रानिएरीको पूर्वटोली लेस्टर सिटीसँग ४-१ ले पराजित हुँदै बाहिरिएको थियो । पछिल्लो खेलमा वाट्फोर्ड नर्विचसँग ३-० ले पराजित भएको थियो । वाट्फोर्ड यस सिजनमा १४ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।




















