थ्रि-स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा।

पोखरा:= थ्रिस्टार क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्रिस्टारलाई १-० ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँगको भेट पक्का गरेको हो ।

आर्मीलाई उपाधि नजिक पुर्‍याउन राजीव गुरुङले दोस्रो हाफमा निर्णायक गोल गर्नुभयो । परिवर्तित खेलाडीका रूपमा मैदान प्रवेश गरेको सात मिनेटमा उहाँले गोल गर्नुभएको थियो ।खेलको ७०औँ मिनेटमा राजीवले गोल गर्नुभएको थियो । राजीवले झण्डै ३५ यार्ड टाढाबाट गोलरक्षक प्रिसो अघि बढ्दै गरेको अवस्थामा गरेको प्रहारले सहजै जाली चुमेको थियो । उहाँ खेलको ६४औँ मिनेटमा टंक बस्नेतको स्थानमा मैदान प्रवेश गर्नुभएको थियो ।

अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार मनाङ-मस्र्याङ्दी क्लबको सामना गर्नेछ । मनाङले पुलिसलाई २-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अब सेमिफाइनलमा बुधबार एपिएफ र मच्छिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन शहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ सहारा क्लब पोखराद्वारा आयोजित २०औँ संस्करणको प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा संकटा फुटबल क्लब, मच्छिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, विवाइएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।

आगामी माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीले जनही २५ हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।