लण्डन:= इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुलले सहज जित हात पारेको छ । लिभरपुलले घरेलु टोली क्रिस्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोलीको जितमा भर्जिल भान डाइक, एलेक्स अक्सलेड चेम्वरलेन र फाविन्होले गोल गर्नुभयो भने घरेलु टोलीका ओड्सोनी इडुआर्डले एक गोल फर्काउनुभयो ।
आइतबार राति भएको खेलको आठौँ मिनेटमा भान डाइकको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो । ३२औँ मिनेटमा चेम्वरलेनले रोबर्टसनकै पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २-० को अग्रता दिलाउनुभयो ।
५औँ मिनेटमा ओड्सोनी इडुआर्डले गोल गर्दै खेललाई दुई/एकको अवस्थामा ल्याउनुभयो । ८९औँ मिनेटमा फाविन्होले पेनाल्टीमा गोल गर्दै लिभरपुलको जित पक्का गर्नुभएको थियो ।
जितसँगै लिभरपुलको २२ खेलबाट ४८ अंक पुगेको छ । एक खेल बढी खेलेको शीर्ष स्थानको सिटीको ५७ अंक छ । लिभरपुल सिटीसँग नौ अंकले पछि छ । पराजित क्रिस्टल प्यालेस २२ खेलबाट २४ अंक जोडेर १३औँ स्थानमा रहेको छ । यस्तै प्रिमियर लिगकै अर्काे खेलमा लेस्टर सिटी र ब्राइटनले एक/एक गोलको बराबरी खेल्दा आर्सनल र बर्नलेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
यता अर्को खेलमा चेल्सीले टोटनहम हट्सपरलाई पराजित गरेको छ । हाकिम जिएच र थियागो सिल्भाले गोल गरेपछि चेल्सीले टोटनहमलाई २-० गोलअन्तरले पराजित गरेको हो ।
दोस्रो हाफको ४७औँ मिनेटमा हाकिम जिएचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ५५औँ मिनेटमा भेट्रान डिफेन्डर थियागो सिल्भाले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पार्नुभएको थियो ।
जितसँगै तेस्रो स्थानमा रहेको चेल्सीको २४ खेलबाट ४७ अंक पुगेको छ । चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग १० अंकले तथा दोस्रो स्थानको लिभरपुलसँग एक अंकले पछि छ । सिटीले एक खेल तथा लिभरपुलले दुई खेल कम खेलेका छन् । पराजित टोटनहम २० खेलबाट ३६ अंक जोडेर सातौँ स्थानमा रहेको छ ।




















