काठमाडौं:= साताको दोस्रो दिन सोमबार सेयर बजार सय अंकले घटेको छ । गत बिहीबारसम्म करिब ३० प्रतिशतले बढेर २९३१ अंकसम्म पुगेको नेप्से पछिल्लो समय अस्थिर देखिएको छ । सोमबार नेप्से एक सय १० अंकले घटेर २८२०.४१ अंकमा खुम्चिन पुगेको छ । तथापि दुई सय २८ कम्पनीका एक करोड ७० लाख ६३ हजार आठ सय ३३ कित्ता सेयर आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार एक सय ७८ रुपैयाँमा कारोबार भएको छ । आइतबार सात अर्ब तीन करोडको कारोबार भएको थियो ।
यस दिन विन लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंककोे सर्वाधिक ७.८२ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त, ओरियन्टल होटल र सामलिङ पावरको सात प्रतिशतभन्दा बढीले घटेको छ ।
अपि पावरको ३८ करोड ३४ लाख मूल्यका सात लाख २६ हजार पाँच सय ७५ कित्ता सेयर कारोबार भएका छन् भने एनआइसी एसिया बैंक ३६.७३ करोड, अरुण भ्याली हाइड्रोपावर ३०.४९ करोड, अपर तामाकोशी २०.२६ र नेपाल टेलिकमको १९.४२ करोडको सेयर कारोबार भएका छन् । सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पुँजीकरण ३९ खर्ब ८६ अर्ब १२ करोड २८ लाख रुपैयाँमा झरेको छ । सोमबार बजार पुँजीकरण एक खर्ब ४१ अर्बले घटेको हो ।
छ कम्पनीलाई सेयर निष्काशन अनुमति
नेपाल धितोपत्र बोर्डले थप छवटा कम्पनीलाई साधारण सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ । बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई यस्तो अनुमति दिएको हो । बलेफीले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँका ३६ लाख ५५ हजार नौ सय ४० कित्ता सेयर निष्काशन गर्नेछ, जसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । त्यस्तै ग्रिन भेन्चरले ६२ करोड ५० लाख रुपैयाँका ६२ लाख ५० हजार कित्ता निष्काशन गर्नेछ, जसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ । नेस्डो समृद्ध लघुवित्तको आठ करोड २८ लाख रुपैयाँको आठ लाख २८ हजार सात सय ५० कित्ताको सेयर बिक्री हुनेछ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
त्यस्तै जाल्पा सामुदायिक लघुवित्तको पाँच करोड २२ लाख रुपैयाँको पाँच लाख २२ हजार कित्ताको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ भने राष्ट्र उत्थान लघुवित्तको आठ करोड ५० लाख रुपैयाँको आठ लाख ५० हजार कित्ताको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । इमर्जिङ नेपालको पाँच करोड ५५ लाख ६० हजार रुपैयाँको पाँच लाख ५५ हजार छ सय कित्ताको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।




















