काठमाडौं:= गायिका सिर्जु अधिकारीले सार्वजनिक गरेको नयाँ गीत ‘नजरैले हानेर’मा नेपाली चलचित्र क्षेत्रमा नायकद्वय आर्यन सिग्देल र आकाश श्रेष्ठले अभिनय गर्नुभएको छ । भिडियोमा आर्यन र आकाशसँग सिर्जुले ठुम्का लगाउनुभएको छ ।
गीतमा सिर्जुसँगै गायक प्रवीन बेडवालको स्वर छ । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्नुभएको सिर्जुको यस गीतमा लय तथा शब्द सिर्जुकै छ । गीतमा आशिष अभिरलको एरेन्ज छ ।
महँगो सेट र कलाकारलाई लिएर बनाइएको भिडियोको निर्देशक कविराज गहतराजले गर्नुभएको हो । उहाँ विशेषगरी चलचित्रका गीतहरूमा महँगो पारिश्रमिक लिने निर्देशक तथा कोरियोग्राफर भनेर चिनिनुहुन्छ । दीपकराज सुनारको कोरियोग्राफी रहेको भिडियोमा गोमा केसीको लगानी छ । गोमा गायिका सिर्जुको आमा हुनुहुन्छ ।
गायिका सिर्जुले चलचित्रमा लोकप्रिय नायकद्वयलाई लिएर पहिलेदेखि नै काम गर्ने इच्छा भएकाले त्यो पूरा गरेको बताउनुभयो । उहाँले विभिन्न अन्तर्वार्ताको क्रममा सानैदेखि आफूलाई आर्यन सिग्देल निकै मनपर्ने बताउँदै आउनुभएको थियो । ‘म आफूलाई निकै मनपर्ने नायकहरू हुनुहुन्छ, आर्यन र आकाश ।
त्यसैले पनि उहाँहरू रोजाईमा पर्नुभएको हो । अर्को कुरा उहाँहरू दुवैजनालाई दर्शक तथा श्रोताले निकै मन पराउनुभएको छ । त्यो पनि भिडियोमा राख्नुको अर्को कारण हो’, सिर्जुले भन्नुभयो, ‘गीत सार्वजनिक भइसकेपछिको प्रतिक्रिया राम्रो पाएकी छु त्यसमा खुशी छु ।’ गायिका सिर्जुले गीतले लगानी उठाउने वा नउठाउनेभन्दा सकारात्मक प्रतिक्रियाले खुशी बनाएको बताउनुभयो । उहाँले लगानी कति भयो भन्ने विषयमा भने खुलाउन चाहानुभएन ।




















