सेयर बजार फ़ेरि ओरालोतर्फ उन्मुख।

काठमाडौं := सोमबारसम्म बढ्दोक्रममा रहेको सेयर बजारमा मंगलबार १०.७८ अंकले घटेको छ । सेयर बजार बिहीबार ५४, आइतबार ६९ र सोमबार २१ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार मंगलबार सेयर कारोबार मापक सूचक नेप्से १०.७८ अंकले घटेर २९३६.६६ अंकमा बन्द भएको छ ।

तर, ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स भने १.१० अंकले बढेर ५४७.४७ अंकमा पुगेको छ । कुल दुई सय २४ कम्पनीका एक करोड ६० लाख चार हजार पाँच सय ३० कित्ता सेयर आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार पाँच सय ६१ रुपैयाँमा कारोबार भएको छ । कारोबार भएका कुल १३ समूहमध्ये चार समूहको सूचक बढेको भने नौवटाको घटेको छ ।

अपि पावर कम्पनीको सर्वाधिक पाँच लाख पाँच हजार सात सय ६४ कित्ता सेयर २८ करोड ११ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छ भने अरुण भ्याली २५.७१ करोड, नेपाल टेलिकम २५.१९, आइएमई जनरल इन्स्योरेन्स २४.५६ र हिमालयन डिस्टिलरीको २०.४८ करोडको कारोबार भएको छ ।

सामलिङ पावर कम्पनीको ९.४९ प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी ८.११, बुद्धभूमि हाइड्रोपावर ६.०८, प्रभु बैंक ५.५६ र वरुण हाइड्रोपावरको सेयर  पनि ४.६६ प्रतिशतले बढेको छ । तर, मानुषी लघुवित्त वित्तीय संस्थाको पाँच प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक ४.६२, गुडविल डिबेञ्चर २०८३ को मूल्य ४.५२, पञ्चकन्या माइहाइड्रोपावर ४.४७ र खानीखोला हाइड्रोपावरको सेयरमूल्य पनि ४.४० प्रतिशतले घटेको छ ।