एजेन्सी := साउथ सुपरस्टार धनुष र रजनीकान्तकी छोरी ऐश्वर्याले १८ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याउने निर्णय गरेका छन् । सामाजिक सञ्जालमार्फत् दुवैले आफूहरु अलग भएको जानकारी दिएका हुन् । उनीहरुले सन् २००४ मा विवाह गरेका थिए । विवाह हुँदा धनुष २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो ।
साउथमा आदर्श जोडी मानिने धनुष र ऐश्वर्याको सम्बन्ध विक्षेद हुनुमा दुईवटा कारण मुख्य मानिएको छ । पहिलो, अभिनेत्रीहरुसँग धनुषको नाम जोडिरहनु र दोस्रो, ऐश्वर्याको निर्देशकको रुपमा करिअर नबन्नु । यी दुई कारणले यो जोडीले विवाहको १८ वर्षपछि अलगिने निर्णय गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन् । सन् २०१९ देखि उनीहरुको एकअर्कासँग सम्बन्ध राम्रो थिएन ।

साउथ फिल्मसँग जोडिएका व्यक्तिहरु धनुषको विभिन्न अभिनेत्रीहरुसँग नाम जोडिनु डिभोर्सको मुख्य कारण मान्दछन् । उनीसँग नाम जोडिने अभिनेत्रीहरुमा अमाला पल, श्रुति हासन र तृषा कृष्णनको नाम सबैभन्दा अगाडि आउँछ । पटक-पटक धनुषको नाम आफ्नै फिल्मकी अभिनेत्रीहरुसँग जोडिएपछि ऐश्वर्यासँग उनको मनमुटाव चर्किन थालेको दैनिक भाष्करले उल्लेख गरेको छ ।
रजनीकान्तकी छोरी हुनुको बावजूद पनि ऐश्वर्यालाई साउथ इन्डस्ट्रीमा काम मिल्न सकस छ । पहिलो फिल्म ‘तीन’ पछि उनीसँग कुनै काम छैन । यो फिल्ममा श्रुति हासन र धनुषको मुख्य भूमिका थियो । तर, फिल्म बक्सअफिसमा चलेन । ‘तीन’ पछि फिचर फिल्मबाट अफर नआउँदा उनले केही सर्ट फिल्म र डकुमेन्ट्रीमा काम गरेकी थिइन् । तर, यसबाट पनि उनलाई सफलता मिलेन ।
साउथमा आफ्नो भविष्य नदेखेपछि ऐश्वर्या अहिले बलिउडको चक्कर काटिरहेकी छिन् । यसैले उनी अब बलिउड फिल्ममा भविष्य बनाउन मुम्बईमा बस्ने सोचमा छिन् । तर, धनुष भने ऐश्वर्याको मुम्बई बस्ने निर्णयको विपक्षमा छन् । यसले गर्दा पनि उनीहरुको सम्बन्ध टुटेको चर्चा छ । फिल्ममा धनुषको बढ्दो व्यस्तता पनि उनीहरुको डिभोर्स हुनुको एउटा महत्त्वपूर्ण कारण मानिएको छ ।




















