नेपाली म्युजिक भिडियो जाल बुन्योमा टुइन्स जोडी।

काठमाडौं:= नेपाली म्युजिक भिडियोको क्षेत्रमा युट्युबमा कसरी भ्युज आउँछ त्यो आधारमा भिडियो निर्माण गर्ने गरिन्छ । विशेषगरी कलाकार छनौट र मेकिङको शैलीका कारण युट्युबमा राखिएको भिडियोमा दर्शकको आँखा गएको हुन्छ । तर त्यसका लागि गीतको अडियो बलियो हुनु त जरुरी पक्कै हुन्छ ।

यसैबीच पछिल्लो समय म्युजिक भिडियोमा टुइन्स (जुम्ल्याहा) गर्ल अर्थात् प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा डिमाण्डेड कलाकारको रूपमा चिनिनुहुन्छ । उहाँहरूलाई लिएर म्युजिक भिडियो बनाउन चाहाने धेरै निर्माण हुनुहुन्छ । किनकी उहाँहरूले नृत्य गरेको अधिकांश भिडियोले युट्युबमा राम्रो भ्युज पाएको छ । यस्तै टुइन्स गर्लको प्रेम र बिछोडको चर्चा निकै हुनेगर्छ । त्यसैले पनि युट्युबमा यी दुई दिदी बहिनीलाई बढी हेरिन्छ । यिनै कारणले गर्दा म्युजिक भिडियोका निर्माता तथा निर्देशक यी दुई कलाकारलाई लिन रुचाउनुहुन्छ ।

यसैक्रममा यिनै टुइन्स गर्ललाई लिएर नयाँ म्युजिक भिडियो निर्माण गरिएको छ । ‘जाल बुन्यो’ बोलको गीतमा प्रिज्मा र प्रिन्सीसँगै टुइन्स ब्वाय अमर दाहाल र अमृत दाहालको जोडी बाधिएको छ । भिडियोमा टुइन्स केटीहरूसँग टुइन्स केटाहरू नै राख्दा अझ सुहाउने भएकाले यसरी जोडी बाध्ने गरिएको छ । सार्वजनिक गीतमा सुजाता केसी र विपिन घिमिरेको स्वर छ । गायक विपिनकै संगीत रहेको गीतमा शिव अधिकारीको शब्द छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीतको भिडियो प्रिमियर गरियो । कार्यक्रममा गीतको निर्माण टिमसँगै कलाकारको उपस्थिति थियो । मानकृष्ण महर्जनले खिचेको भिडियो विकास ज्ञवालीले सम्पादन गर्नुभएको छ भने निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको छ ।

कार्यक्रममा गायिका सुजाताले गीतको अडियो र भिडियो निर्माणको क्रममा गरेको दुःख सम्झिनुभयो । सुजाता भन्नुहुन्छ, ‘धेरै मिहिनेतका साथ गीत तयार पारेका छौं । दर्शक श्रोतालाई पक्कै मनपर्छ ।’ गायक विपिनले युवापुस्तासँगै सबै वर्गका दर्शकलाई मन पर्ने खालको गीत बनाइएको भन्दै गीत सबैलाई मन पर्नेमा विश्वास राख्नुभयो ।

टुइन्स गर्ल प्रिज्मा र प्रिन्सीले गीतको अडियो निकै राम्रो भएको भन्दै भिडियो निर्देशक रामजीको काम गर्ने शैलीको तारिफ गर्नुभयो । कलाकार अमर र अमृतले पनि प्रिज्मा र प्रिन्सीसँग अभिनय गर्न पाउँदा खुशी लागेको भन्दै रामजीको निर्देशनमा पहिलोपटक काम गरेको जानकारी गराउनुभयो । निर्देशक रामजी र गायिका सुजाताको यो दोस्रो सहकार्य हो । यसअघि सुजाताको राति–राति फोन गर्ने बोलको गीतमा राजमीकै निर्देशन थियो ।

कार्यक्रममा टुइन्स गर्ल प्रिज्मा र प्रिन्सीले भिडियो चलाउन रुनै पर्ने रहेछ होइन भन्दै सञ्चारकर्मीले गरेको प्रश्नमा आफूहरू भिडियो चलाउनकै लागि नरोएको प्रष्ट पार्नुभयो । उहाँहरूले कुराकानीको क्रममा त्यो परिस्थितिले आँशु खसेको तर नियोजित हिसाबले नरोएको बताउनुभयो । उहाँहरू केही समयअघि एक मिडियामा गरिएको अन्तर्वार्तामा प्रेम र बिछोडको प्रश्नमा रुनु भएको थियो । विशेषगरी कला क्षेत्रमा प्रिन्सी खतिवडा र कलाकार सागर लम्सालको प्रेमपछि विछोड भएको चर्चा चलिरहेको छ । तर सागर र प्रिन्सीले पहिलेदेखि नै आफूहरू प्रेममा रहेको अस्वीकार गर्दैं आउनुभएको छ ।