प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई हराउँदै बागमती सेमिफाइनलमा।

काठमाडौं := बागमती प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले हराउँदै प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘बी’ मा रहेको बागमतीले ६ अंकका साथ अन्तिम चारमा स्थान बनाएको हो । युवा तीव्र गतिका बलर प्रतिश जिसीले उत्कृष्ट अलराउन्ड गरेपछि १४४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रनमा समेटियो ।

गण्डकीका विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रनबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झनलायक रहेन । बागमतीका नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २-२ विकेट तथा प्रतिश जिसी, रामनरेश गिरी र रिजन ढकालले १-१ विकेट हात पार्नुभयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । बागमतीका प्रतिश जिसीले मात्र ८ बलमा ३ छक्का र २ चौकासहित अन्त्यतिर आक्रामक २७ रन जोड्नुभयो । यस्तै विपिन आचार्यले १९ बलमा ३ चौकासहित सर्वाधिक ३० रन बनाउनुभएको थियो । त्यसबाहेक ओपनर सुवास खकुरेलले ३० बलमा २ चौका र १ छक्कासहित २७ रन जोड्नुभयो । गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले २-२ विकेट लिनुभयो ।

समूह ‘बी’ बाट एपिएफ चार खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगिसकेको छ । बागमतीले चार खेलमा तीनमा जित र एकमा हारसहित ६ अंक जोड्दै सेमिफाइनलमा स्थान पक्का गर्‍यो । एपिएफले समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

खेल स्थगित

यस्तै प्रधानमन्त्री कपमा शनिबार हुने तय भएको नेपाल पुलिस क्बल र प्रदेश १ बीचको खेल खेलाडीमा कोरोना आशंकापछि स्थगित भएको थियो । खेल शनिबार बिहान टियु मैदानमा बिहान ९ बजे हुने तय थियो । तर, प्रदेश १ का खेलाडीमा कोरोना आशंका भएपछि खेल स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यानले खेलाडीको परीक्षणपछि मात्रै खेलबारे निर्णय लिने जनाएको छ ।

खेलमा अंक बाँड्ने वा पुनः खेलाउने प्रदेश १ का खेलाडीको पिसिआर परीक्षणको नतिजापछि मात्र थाहा हुनेछ । पुलिस तीन खेलमा अपराजित रहँदै समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनलमा पुगिसकेको छ । प्रदेश १ ले बाँकी दुवै खेलमा विशाल जित निकालेको खण्डमा त्रिभुवन आर्मी क्लब बाहिरिन सक्छ ।