लण्डन:= बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा फुटबलमा फ्रेइवर्गलाई ५-१ को सानदार जित हात पारेको छ । नर्वेजियन युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड र थोमस म्युनिएरको समान दुई गोल मद्दतमा डर्टमुन्डले जित आत्मसात गरेको हो ।
टोलीका लागि मोहम्मद दाहुदले एक गोल थप्नुभयो । फ्रेइवर्गका इम्रीदिन डेमिरोभिचले एक गोल फर्काउनुभएको थियो । खेलको १४औँ मिनेटमा थोमस म्युनिएरको गोलबाट डर्टमुन्डले सुरुवाती अग्रता लिएको थियो । २९औँ मिनेटमा म्युनिएरले जुलिएनकै पासमा गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पार्नुभयो ।
पहिलो हाफको इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमा एर्लिङ ब्राउट हालान्डले एक गोल थप्नुभयो । ६१औँ मिनेटमा इम्रीदिन डेमिरोभिचले एक गोल फर्काउनुभयो । ७५औँ मिनेटमा हालान्डले दाहुदकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्नुभयो भने ८६औँ मिनेटमा दाहुदले निको स्कल्जको पासमा गोल गर्दै डर्टमुन्डलाई ५-१ को जित दिलाउनुभयो ।
यो जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दूरी ३ मा छोट्याएको छ । डर्टमुन्डको १९ खेलबाट ४० अंक छ । एक खेल कम खेलेको बायर्नको ४३ अंक छ । पराजित फ्रेइवर्ग ३० अंक जोडेर चौथो स्थानमा यथावत् छ ।




















