साताभर ३६ अर्बको सेयर कारोबार।

काठमाडौं:= साताभर सेयर बजार एक सय ६५ अंकले बढेको छ । गत साता करिब २१ अर्ब कारोबार भएकोमा यस साता झण्डै ३६ अर्ब अर्थात् ३५ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ । गत साता करिब एक सय ६८ अंकले बढेको सेयर बजार यस साता पनि एक सय ६५ अंकले बढेर अन्तिम दिन नेप्से परिसूचक २८५७.७५ अंक पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से ७३.०५ अंकले बढेर २७६५.५१ अंकमा पुगेर कारोबार बन्द भएको थियो भने सात अर्ब १० करोडको कारोबार भएको थियो ।

सोमबार नेप्से १९ अंकभन्दा बढी बढेर २७८४.९४ अंकमा पुगेको थियो भने सात अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँको कारोबार भएको थियो ।  मंगलबार नेप्से ४९ अंकले बढेर २८३४.१३ अंकमा पुगेको थियो भने छ अर्ब ७२ करोड ४५ लाख २६ हजार एक सय ९७ रुपैयाँको कारोबार भएको थियो । तर, बुधबारको कारोबारमा नेप्से ३०.५१ अंकले घटेर २८०३.६५ अंकमा खुम्चिएको थियो ।

नेप्से घटे पनि कारोबार रकम भने बढेर आठ अर्ब ३३ करोड २१ लाख दुई हजार सात सय ४२ रुपैयाँको कारोबार भएको थियो । साताको अन्तिम दिन नेप्से ५४.१२ अंकले बढेर २८५७.७५ अंकमा बन्द भएको थियो । सो दिन छ अर्ब ६६ करोड ९७ लाख ४८ हजार पाँच सय ६८ रुपैयाँको एक करोड १८ लाख ३४ हजार दुई सय १६ कित्ता सेयर कारोबार भएको थियो ।