काठमाडौं:= नेपाल उद्योग परिसंघले सार्क सदस्य राष्ट्र अफगानिस्तानका लागि मानवीय सहायता हस्तान्तरण गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सहयोग सामग्री ग्रहण गर्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी देशमा परेको संकटमा नेपाल सरकार र निजी क्षेत्र मिलेर उदाहरणीय सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले निजी क्षेत्रलाई आहृवान ग¥यो, तपाईंहरूले सहयोग जुटाइदिनुभयो, यो क्रियाकलापले सरकार र निजी क्षेत्रको सहकार्य थप बलियो बनाएको छ ।’ मन्त्री खड्काले नेपाल सन् २०२६ बाट अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको भन्दै त्यसपछि आइपर्ने चुनौती पनि सरकार र निजी क्षेत्र मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।
परिसंघका अध्यक्ष अग्रवालले सरकारको आहृवानमा निजी क्षेत्रले मानवीय सहायतामा सधैं काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो छिमेकमा परेको अप्ठ्यारो अवस्थाबाट माथि उठ्न सरकार र निजी क्षेत्र मिलेर यो उदाहरणीय काम भएको छ ।’ अफगानिस्तानमा परेको मानवीय संकट समाधानमा सहयोग गर्ने उद्देश्यले परिसंघले करिब २३ लाख मूल्य बराबरको औषधि हस्तान्तरण गरेको हो । परिसंघसहित निजी क्षेत्रबाट हस्तान्तरित सहयोग आइतबार काबुल पठाइने परिसंघले जनाएको छ । हिमालयन एयरलाइन्सको च्यारिटी उडानमार्फत् सहयोग सामग्री काबुल पुर्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
लगानी आकर्षित र प्रविधि हस्तान्तरणमा जोड
परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन, प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्र्धन गर्न र पर्यटन प्रवद्र्धनमा जोड दिन अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग आग्रह गरेको छ । परिसंघको कार्यालयमा शुक्रबार आयोजित छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न आग्रह गर्नुभयो ।परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानीका लागि धेरै क्षेत्रमा सम्भावना रहेकाले त्यसको प्रवद्र्धनमा जोड दिन पनि राजदूतको ध्यानाकर्षण गराएको छ।
त्यस्तै नेपालमा उत्पादन हुने तयारी पोशाक, छुर्पीजस्ता वस्तुका लागि अमेरिका राम्रो बजार भएकाले त्यस्ता वस्तुको प्रवद्र्धन गर्न आग्रह गरेको छ । अध्यक्ष अग्रवालले नेपाल सन् २०२६ मा अतिकम विकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेकाले स्तरोन्नतिसँगै कटौती हुने व्यापार सुविधा पुरानै अवस्थामा कायम राख्न पहल गर्न पनि आग्रह गर्नुभयो ।
अग्रवालले गुणस्तरीय पूर्वाधार निर्माण नेपालको आवश्यकता भन्दै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र नेपाल सरकारबीचको सम्झौता संसद्बाट अनुमोदन गराई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीचको सौविध्यपूर्ण व्यापार सम्झौताअनुसार नेपालमा उत्पादित वस्तु भारत निर्यातमा विशेष सुविधा पाउने भएकाले अमेरिकी लगानीकर्ताका लागि ठूलो बजारसहितको लगानीको अवसर नेपाल हुने बताउनुभयो।
नेपालको पर्यटन प्रवद्र्धन हुने गरी अमेरिकाबाट उच्चस्तरीय भ्रमणको पहल गर्न पनि आग्रह गर्नुभयो । राजदूत खत्रीले आर्थिक मुद्दामा परिसंघसहित निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै नेपालका विशिष्टिकृत उत्पादन अमेरिकी बजारसम्मको सहज पहुँचका लागि पहल गर्ने आश्वासन दिनुभयो । छलफलमा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, इनर्जी डेभलपमेन्ट काउन्सिलका सभापति ज्ञानेन्द्रलाल प्रधान, आइटी काउन्सिलका सदस्य लिनो अल्हेरिङ, हस्तकला एवं तयारी पोशाक उत्पादकको समेत उपस्थिति रहेको सिएनआईले जनाएको छ ।




















