काठमाडौं:= राष्ट्रिय वाणिज्य बैंकले लगानीकर्तालाई वितरण गर्ने ३३ प्रतिशत लाभांश साधारणसभाबाट पारित गरेको छ । बिहीबार सम्पन्न १६औँ वार्षिक साधारणसभाले ३० प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद गरी ३३ प्रतिशत लाभांश पारित गरेको हो । बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभाले बैंकको अधिकृत पुँजी ३० अर्ब रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकको अध्यक्षतामा भएको साधारणसभामा उहाँले कोरोनापछिको अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंक तथा सरकारको नीति नियमलाई प्राथमिकताका साथ पालना गरिने बताउनुभएको थियो ।
बदलिँदो परिवेश र ग्राहकको चाहनाअनुरूप बैंकले आफ्ना सेवा–सुविधामा समयसापेक्ष परिमार्जन गर्दै प्रविधिमा आधारित विभिन्न सेवामार्फत् ग्राहकलाई गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखेर सञ्चालक समितिले नीतिगत निर्णय लिइरहेको र आगामी दिनमा समेत निरन्तरता दिन कटिबद्ध रहने उहाँले बताउनुभयो ।
साधारणसभामा बैंकका सेयरधनी अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि तथा सर्वसाधारण सेयरधनीको प्रत्यक्ष तथा भर्चुअल उपस्थिति रहेको थियो ।
अध्यक्ष डा. पाठकको प्रतिवेदनमा सेयरधनीहरू डमरुबल्लभ घिमिरे, रामगोपाल श्रेष्ठ र अमृतनाथ रेग्मीले टिप्पणी गर्दै विभिन्न सुझाव दिनुभएको थियो । बैंकका हाल ७७ जिल्लामा दुई सय ५७ शाखा, दुई सय ४१ एटिएम र ९८ शाखारहित बैंकिङ सेवा रहेका छन् ।




















