भारत-पाकिस्तान विभाजनका बेला छुट्टिएका दाजुभाइको ७४ वर्षपछि पुनर्मिलन।

इस्लामाबाद := भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाइ ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेट्नुभएको हो ।

सिद्दीकीले विभाजनपछि भारतको पञ्जाबको फुलनवाल क्षेत्रमा बस्दै आउनुभएका ८० वर्षीय हाबिबसँग भेट गर्नुभएको हो । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आउनुभएको थियो।

लामो समयपछि मिलन हुँदा दुई दाजुभाइ निकै भावुक बन्नुभएको थियो । एकले अर्कोलाई अंगालो हालेर आँशु चुहाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दीकी बच्चा नै हुनुहुन्थ्यो । सन् १९४७ मा भारत ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएको थियो ।

तर, स्वतन्त्रतासँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो । भारतीय उपमहाद्वीप दुईवटा स्वतन्त्र क्षेत्र– भारत र पाकिस्तानका रूपमा विभाजित भएको थियो । विभाजनसँगै हिंसा र नरसंहार पनि मच्चिएको थियो । विभाजनको घाउ अझै पनि दुवै देशमा देखिन्छ ।