काठमाडौं:= भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिपुलेकको विषयमा नेपाली कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारतले सडक बनाइरहेको भन्ने अभिव्यक्ति दिएपछि नेपाल सरकार मौन रहेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
यसै विषयमा सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले शुक्रबार आफ्नो आधिकारिक धारणा व्यक्त गर्दै नेपालको भूमिमा भारतले सडक निर्माण गरेको भन्ने विषय आपत्तिजनक रहेको जनाएको हो । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाद्वारा जारी विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको र यसमा भारतको हस्तक्षेप स्वीकार्य नहुने आफूहरूको अडान कायम रहेको बताइएको छ।
‘लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि रहेको भन्ने विषयमा कांग्रेसले विगतदेखि नै संस्थागत रूपले राख्दै आएको धारणा र अडानमा पार्टी प्रस्ट र दृढ रहेको व्यहोरा सार्वजनिक रूपले पुनः दोहोर्याउन चाहन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपालको भूमिमाथि नेपालको भोगाधिकार हुनुपर्ने भन्दै कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने पनि जनाइएको छ ।
‘संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘दुई राष्ट्र बीचको सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । सन् १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रस्ट छौं ।’
विवादित विषयलाई कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय आपत्तिजनक रहेको भन्दै त्यसलाई अविलम्ब रोक्न माग कांग्रेसले माग गरेको छ । यस विषयमा सरकारको आधिकारिक धारणा भने आइसकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमाले, विवेकशील साझा, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले सरकारको मौनताप्रति विरोध गर्दै आएका छन् ।




















