चुच्चे नक्सासहितको दुई रुपैयाँँको सिक्का चलनचल्तीमा।

काठमाडौं:= नेपाल राष्ट्र बैंकले नेपालको चुच्चे नक्सा भएको दुई रुपैयाँँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकले साबिककै आकार र सुनौलो रंगमा टकमारी गरिएको २०७७ साल लेखिएको सिक्का बजारमा पठाएको हो ।

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको चुच्चे नक्सा रहेको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि ६४ वटा थोप्ला रहेका छन् भने माथिल्लो भागमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा दुई रुपैयाँँ लेखिएको छ ।

सिक्कामा दृष्टिविहीनले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला पनि राखिएको छ । सिक्काको पछाडि वृत्ताकार घेराभित्र वरिपरि ६४ थोप्ला छन् भने आठ थोप्लासहितको वृत्ताकार चित्र र सोभित्र वर्गाकार आकृतिको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, शंख, पद्म, गदाको आकृति छन् । पछाडिको बीच भागमा जानकी मन्दिरको आकृति रहेको छ ।