अपराजित रहँदै एपीएफ प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा।

काठमाडौं:= अपराजित रहँदै नेपाल एपीएफ क्लब काठमाडौं जारी प्रधानमन्त्री कप टी-२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले शुक्रबार लुम्बिनी प्रदेशलाई सात विकेटले समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

१०५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले ११ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । एपिएफका आसिफ शेखले २६ बलमा चार चौका र तीन छक्कासहित ४३ रन जोड्नुभयो । यस्तै अर्का ओपनर प्रदीप ऐरीले २० बलमा दुई चौका र चौका छक्कासहित ३६ रन जोड्नुभयो । लुम्बिनी प्रदेशका स्पिनर बशिर अहमदले दुई र सिद्धान्त शाहीले एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनी मूलपानी मैदानमा निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । लुम्बिनीका ओपनर देव खनालले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४३ रन जोड्नुभयो । यस्तै सुशान्त थापा १८ र कृष्ण कार्की १३ रनमा आउट हुनुभएको थियो । एपिएफका कमलसिंह ऐरी, किशोर महतो, अभिनाश बोहरा र दीपक बोहराले दुई/दुई विकेट लिनुभयो ।

एपिएफ समूह ‘बी’ मा चार खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । अब एपिएफले माघ ४ गते समूह ‘ए’ को उपविजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनल माघ ४ गने हुनेछ ।

आर्मीको जित

यस्तै प्रतियोगिताअन्तर्गत शुक्रबार भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध त्रिभुवन आर्मी क्लब तीन विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई तनि विकेटले पराजित गरेको हो ।

चार खेलमध्ये हार्मीले दुईमा जित हासिल गरेको हो । आर्मीले यसअघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको थियो भने नेपाल पुलिस क्लबसँग चार विकेटले हार व्यहोरेको थियो । तेस्रो खेल हुन नसकेपछि आर्मीले प्रदेश नं १ सँग एक/एक अंक बाँडेको थियो ।

सुदूरपश्चिमले भने पुलिसविरुद्धको पहिलो खेलमा दुई रनले पराजय भोगेको थियो भने कर्णाली प्रदेशलाई ४७ रनले पराजित गरेको थियो । खेलमा ११६ रनको लक्ष्य आर्मीले अन्तिम बलमा सात विकेट विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि हरि चौहानले ३३ रनको योगदान दिनुभयो । विक्रम सोबले अविजित २९, भीम सार्कीले १३, शाहब आलमले १२ तथा कुशल मल्लले ११ रन बनाउनुभयो । बलिङतर्फ सुदूरपश्चिमका आदित्य महताले सर्वाधिक चार विकेट लिनुभयो । यस्तै नारायण जोशी, हेमन्त धामी र शेर मल्लले एक–एक विकेट लिनुभयो ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा सवै विकेट गुमाउँदै ११५ रन बनायो । उसका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोड्नुभयो । वसन्त कार्कीले ३४ र अर्जुन साउदले १५ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका विक्रम सोबले उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो । उहाँ एक्लैले ६ विकेट लिनुभयो । चार ओभर बलिङ गर्ने क्रममा सोबलेमात्र आठ रन खर्चुनुभयो । यस्तै कुशल मल्ल, शाहब आलम र हरि चौहानले एक/एक विकेट लिनुभयो ।

पुलिस क्लबद्वारा कर्णाली पराजित

कीर्तिपुर मैदानमै आएको अर्को खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गरेको छ । पुलिसले यसअघि सुदूरपश्चिम प्रदेशलाई दुई रनले तथा त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराएको थियो । जीतसँगै पुलिस सेमिफाइनल नजिक पुगेको छ ।

कर्णाली हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजित भएको छ । कर्णालीको सेमिफाइनल पुग्ने सम्भावना समाप्त भएको छ । यसअघि कर्णालीले आर्मी र सुदूरपश्चिमविरुद्धको खेलमा पराजय भोगेको थियो भने प्रदेश नं १ लाई पराजित गारेको थियो ।

खेलमा पुलिस क्लबले दिएको २४५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कर्णाली निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५५ रनमा समेटियो । कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ६८ रनको योगदान गर्नुभयो । उहाँले ४७ बल खेल्दै ६ चौका र तीन छक्का हान्नुभयो । बलिङतर्फ पुलिसका योगेन्द्रसिंह कार्की र दीपेन्द्र सिंह ऐरीले दुई÷दुई तथा पवन सर्राफ, कुशल भुर्तेल, करण केसी र गुल्सन झाले एक/एक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएको थियो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८२ रनको योगदान दिनुभयो । उहाँले ३९ बलमा नौ चौका र तीन छक्का प्रहार गर्नुभयो । यस्तै दीपेन्द्रसिंह ऐरीले ६२, दिलीप नाथले ३१, पवन शर्राफले २२, आरिफ शेखले १८ र मञ्जित श्रेष्ठले १९ रन बनाए । बलिङतर्फ कर्णालीका अनुज चुनारा, प्रकाश जैसी र रवीन्द्र शाहीले दुई/दुई विकेट लिनुभयो ।