अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या बढ्यो,लक्षण सामान्य भए पनि अबको दुई हप्ता चुनौतीपूर्ण।

[ डीबि शर्मा ] 

काठमाडौं:= कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेसँगै विभिन्न अस्पतालमा आउने संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो एक सातादेखि दैनिक कोरोना संक्रमण बढ्न थालेपछि अस्पताल भर्ना हुने संक्रमितको संख्या वृद्धि भएको हो । काठमाडौं उपत्यकाका टेकु अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल लगायतमा भर्ना हुने संक्रमितको संख्या बढिरहेको अस्पतालहरूले जनाएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा रावलले अस्पताल आउने बिरामीमध्ये ६० प्रतिशत कोरोना संक्रमित रहेको बताउनुभयो । उहाँका अनुसार यस्तै अवस्था रहे अबको दुई साता चुनौतीपूर्ण रहनेछ । ‘अस्पतालमा आउने १५ मध्ये १० जना कोरोना संक्रमित छन्,’ उहाँले भन्नुभयो, ‘ओमिक्रोन भेरियन्टले कस्तो रूप लिन्छ । त्यसैको आधारमा अबको दुई हप्ता चुनौतीपूर्ण हुने देखिन्छ ।’ अस्पतालमा १०० शय्यासहित २४ आइसियु रहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा पनि संक्रमितको संख्या बढिरहेको छ । अस्पतालमा ५५ संक्रमितको उपचार भइरहेको छ । अस्पतालका डा. प्रवीन नेपालले अस्पताल भर्ना हुने बिरामीको संख्या बढेको भए पनि गम्भीर समस्या भने नदेखिएको बताउनुभयो । अहिले भर्ना भएका धेरै बिरामीलाई अक्सिजन नचाहिएको उहाँले बताउनुभयो । ‘दोेस्रो लहरको जस्तो अहिले देखिएका संक्रमितलाई अक्सिजन चाहिएको छैन,’ उहाँले भन्नुभयो, ‘भर्ना भएका १५ प्रतिशत बिरामीलाई मात्र अक्सिजन दिएर उपचार गरिरहेका छौँ ।’

संक्रमणको दोस्रो लहरले अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परे पनि अहिले देखिएको ओमिक्रोन भेरियन्टका कारणले संक्रमित हुने धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने टेकु अस्पतालका निर्देशन डा. रावलको भनाइ छ । डा. मनिषा रावलले अस्पतालमा भर्ना भएकामध्ये धेरै बिरामीलाई अक्सिजन आवश्यक नभएको बताउनुभयो । ‘अहिले अस्पतालमा उपचार गर्न आएका संक्रमित बिरामीलाई अक्सिजनको आवश्यकता परेको छैन’, उहाँले भन्नुभयो, ‘६० प्रतिशत बिरामीलाई अक्सिजन आवश्यकता परेको छैन ।’ संक्रमितलाई अक्सिजन नचाहिए पनि अक्सिजन प्लान्ट र तरल अक्सिजन प्लाण्ट अस्पतालले तयारी अवस्थामा राखेको उहाँको भनाइ छ ।

उहाँका अनुसार अस्पतालमा भर्ना भएका १२ मध्ये तीन जनालाई सघन उपचार कक्ष (आइसियु)मा अक्सिजन दिई उपचार गरिएको छ । नौजना हाई डिपडेन्सी कक्ष (एचडियु)मा उपचार भइरहेको छ । उहाँका अनुसार अस्पतालमा भर्ना भएको अधिकांश बिरामी घाँटीमा अप्ठेरो बनाउने, नाकबाट पानी बग्ने, शरीर दुख्ने, शरीर तातो हुने, रुघा लाग्नेजस्ता समस्या देखिएका छन् । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रूपमा फैलिने बताइएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका÷नलगाएका दुवैलाई संक्रामक बनाउन सक्दछ ।

खोप केन्द्रमा बढ्दो भिडले संक्रमण फैलिने खतरा

सरकारले यात्रा गर्न र सार्वजनिक सेवा लिन कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरेपछि कार्ड लिनेको भिड बढेको छ । विभिन्न खोप केन्द्रहरूमा खोप कार्ड लिनेको भिडभाड बढेको हो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल परिसरमा केही दिनयता कार्ड लिनेको भिड बढेको हो । खोप कार्ड नहुँदा सार्वजनिक सेवाबाटै वञ्चित हुने भएपछि खोप लगाउन पुग्नेहरूको भिड टेकुमा बढेको चिकित्सकहरू बताउँछन् ।

भिडमा न भौतिक दूरी कायम हुन्छ न सबैले मास्क लगाउने गरेका छन् । यसले कोरोनाबाट बच्नका लागि भन्दै खोप लगाउन पुगेकाहरूबाटै संक्रमण फैलिने डर भएको चिकित्सकहरूको भनाइ छ । खोप केन्द्रमा बढ्दो भिड नै कोरोना संक्रमणको हटस्पट हुने सम्भावना छ । सरकारले खोप कार्ड अनिवार्य गरे पनि खोप केन्द्र व्यवस्थापन र विस्तारमा भने चासो दिएको छैन ।

उसो त खोप कार्ड लिनेको मात्रै होइन विभिन्न खोप केन्द्रमा खोप लगाउनेको भिड पनि उस्तै छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि माघ १५ गतेसम्म विद्यालय बन्द गरेको छ २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

एकैदिन पाँच हजारभन्दा बढीमा संक्रमण

शुक्रबार एकैदिन देशभर पाँच हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरूमा बिस हजार ५६० जनाको (पिसिआर र एन्टिजेन) परीक्षण गर्दा पाँच हजार ८७ जनामा संक्रमण पुष्टि भएको हो । चार हजार २०५ जनामा पिसिआर परीक्षणबाट र ८८३ जनामा एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १८ हजार २३५ पुगेको छ । शुक्रबार तीनजनाले ज्यान गुमाएका छन् भने ३०६ जना संक्रमणमुक्त भएका छन् ।

उपत्यकामा मात्रै १० हजार बढी सक्रिय संक्रमित

शुक्रबार काठमाडौं उपत्यकामा दुई हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार काठमाडौंमा एक ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार बढी पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा सात हजार ६२५, भक्तपुर एक हजार २५१ र ललितपुर एक हजार ९३५ गरी सक्रिय संक्रमितको संख्या १० हजार ८११ पुगेको हो । पाँच सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या पनि ६ पुगेको छ । मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र सुनसरीमा पाँच सयभन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।