दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगिताका पदक विजेता सुमन सम्मानित।

काठमाडौं:= दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराँते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराँते डो संघले बुधबार सम्मान गरेको छ । नेपाल गोजुरियो कराँते डो संघ एवं एसियाली गोजुरियो कराँते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालिका निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसापत्रसहित एक कार्यक्रमबीच सम्मान गर्नुभयो ।

डिसेम्बर ३ देखि ५ तारिखसम्म भएको टोरोन्टो इन्टरनेसनल इकाता च्याम्पियनसिपमा सुमनले स्वर्ण जित्नुभएको थियो । उहाँले पुरुष सिनियर एकल कातामा स्वर्ण जित्नुभएको हो । प्रतियोगिता नर्थ अमेरिका स्पोर्ट्स कराँते एसोसिएन (एनएसकेए), क्यानाडाले आयोजना गरेको हो ।

वल्र्ड युनियन मार्सल आर्ट्स फेडेरेसन (डब्लुयुएमएफ), लन्डनको आयोजनामा भएको वल्र्ड कप कराँते इ–काता च्याम्पियनसिपमा सुमनले कास्य जित्नुभयो । सुमनसहित फिलिपिन्सका खेलाडी संयुक्तरूपमा तेस्रो हुनुभएको थियो । श्रीलंकाका खेलाडीले स्वर्ण तथा बंगलादेशका खेलाडीले रजत जित्नुभएको थियो । यो प्रतियोगितामा पनि सुमनले पुरुष सिनियर एकल कातामै प्रतिस्पर्धा गर्नुभएको थियो ।

विगतमा सुमनले २०११ मा बंगलादेशमा भएको तेस्रो एसियाली कन्टिनेन्टल कराँते प्रतियोगितामा स्वर्ण, २०११ मै श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा स्वर्ण, २०१२ मा भारतमा भएको छैटौँ एसियाली गोजुरियो खुला कराँते प्रतियोगितामा रजत, २०१६ मा मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराँते प्रतियोगितामा कास्य तथा २०२१ मा जर्मनीमा भएको चेम्निज खुला अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा समान १–१ स्वर्ण र कास्य जित्नुभएको थियो ।

सुमन भौतिक उपस्थितिमै हुने दुई अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा पनि हुनुहुन्छ । फ्रान्समा जनवरी २१ देखि २३ तारिखसम्म हुने पेरिस ओपन कराँते प्रतियोगिता तथा लन्डनमा जनवरी ३० तारिखमा हुने युरोपियन ओपन कराँते प्रतियोगितामा सुमनले सहभागिता जनाउँदै हुनुहुन्छ ।