कर्मचारी भर्ना प्रक्रियाले नेपाल रेल्वे पुनः विवादमा,डेढ सय कर्मचारी उत्रिए आन्दोलनमा।

जनकपुरधाम:= बल्लतल्ल सञ्चालन हुने भनिएको नेपाल रेल्वे पुनः अर्को विवादमा तानिएको छ । रेल्वेका महाप्रबन्धक निरञ्जन झाले चोरशैलीमा ५५ जनालाई कर्मचारीका लागि भन्दै गोप्य तालिम दिन थालेपछि यसअघि आवेदन दिएका तथा पुरानो कर्मचारीहरू विरोधमा उत्रेका छन् ।

नेपाल रेल्वे आज चल्छ भोलि चल्छ भन्ने हल्ला र प्रचारबाजी सुनेको वर्षौं वर्ष बित्न लागेको छ । भारतसँग किनिएको रेल करिब डेढ वर्ष अगाडि जनकपुरधाम आउँदा अब चल्ने विश्वास भयो तर सो रेल इनर्वा स्टेसनमा त्रिपालले छोपेर थन्काइयो । पुस २० गते भारतीय टोली रेल्वे ट्र्याक परीक्षणमा आएको गत शनिबार नेपालले किनेको रेल पुनः परीक्षणका लागि जनकपुरधाम आएपछि रेल्वे चल्ने नयाँ आशा पलाउँदै गर्दा रेल्वेमा नयाँ विवाद सृजना भएको छ ।

यसअघि नेपाल रेल्वेले कर्मचारीका लागि दरखास्त आह्वान गर्दा आवेदन दिएका तथा केही काम गरिसकेकाहरूले आफूहरूलाई पाखा लगाउदै माधव नेपालको कोटाबाट महाप्रबन्धक बनेका निरञ्जन झाले एकाएक ५५ जना आफ्ना आसेपासेलाई गोप्य तालिम दिएर भर्ना गर्न लागेको भन्दै पुरानो आवेदकहरू तालिम स्थल घेराउ गर्न पुगेका छन् ।

पुराना कर्मचारीहरूले आफूहरूलाई मन्त्री परिषद्को निर्णय घरबाट बोलाएर यसअघिका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले काम गर्न लगाएको बताउँछन् । जनकपुरधामको मत्स्यविकास तालिम केन्द्रमा तालिम हुँदै गर्दा यसअघि स्थगित गरिएको र पैसा पनि फिर्ता नपाएका आवेदन भरेकाहरू तथा यसअघि काम गरेकाहरूले होहल्ला र विरोध जनाएका छन् । उनीहरूले आफूहरूलाई पाखा लगाएर आफ्नो पार्टी र नजिकका मान्छेहरूलाई भर्ना गर्न महाप्रबन्धक गोप्त तालिम दिन थालेको आरोप लगाएका छन् ।

आफूहरूलाई बेवास्ता गरिए आफूहरू कुनै पनि किसिमको आन्दोलन गर्न बाध्य हुने उनीहरूको चेतावनी छ । महाप्रबन्धक झाले भने योग्यता, क्षमता र शैक्षिक प्रमाणपत्रको आधारमा छनोट गरी ५५ जनालाई एकमहिने तालिम प्रदान भइरहेको बताउनुभयो । नेकपा एकीकृत समाजवादीको कोटामा महाप्रबन्धक बन्नुभएका सप्तरीका महाप्रन्धक झा र सप्तरीकै विभागीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री जसपाकी नेतृ रेणु यादवको मिलिभगतमा ५५ जना भर्ती गरी गोप्य तालिम दिइरहेको आरोप असन्तुष्टहरूको छ ।

महाप्रबन्धक झाले गत भदौ १८ गते एक सूचना प्रकाशित गर्दै ज्यालादारीमा नियुक्त गरिएका सयौँ कर्मचारीलाई हटाउनुभएको थियो । रेल सञ्चालनको टुंगो नलागेको भन्दै पूर्व–महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नियुक्त गर्नुभएका विभिन्न पदका १५१ जना ज्यालादारी कर्मचारीलाई नवनियुक्त महाप्रबन्धक झाले हटाउनुभएको थियो । उहाँले ज्यालादारीका कर्मचारीलाई आफूखुसी हाजिरी नगर्न सूचना जारी गर्दै पदमुक्त गर्नुभएको थियो ।

रेल्वे सञ्चालनका लागि भनी तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा काममा खटाउने भनिएका व्यक्तिहरूले आफूखुसी दैनिक रूपमा हाजिरी गरिरहेकाले कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेको आधारमा ज्याला रकम भुक्तानी गर्न कानुनले नमिल्ने भएकाले सम्पूर्ण व्यक्तिहरूलाई हाजिर नगर्न सूचनामार्फत आग्रह गरिएको थियो ।

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो । गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ ।

भदौ २९ मा पहिलोपटक रेल्वे कम्पनीले विभिन्न पदमा १२९ कर्मचारी मागेको थियो । ३२ हजार ६८६ जनाले दरखास्त बुझाए । दरखास्तवापत कम्पनीले एक करोड ३६ लाख रकम उठायो । दरखास्त संकलनपछि लोकसेवा आयोगले विज्ञापन नै रद्द गर्न लगायो ।

नेपालको संविधान २०७२ को धारा २४३ मा ‘संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्ने व्यवस्था छ । सोबमोजिम भर्ना प्रक्रिया स्थगित भएपछि उम्मेदवारबाट उठेको रकम अझै फिर्ता भएको छैन । दरखास्त वापतको रकम फिर्ता हुनुपर्ने माग गर्दै उनीहरूले पटक-पटक जनकपुरमा आन्दोलन गरिसकेका छन् ।