भारतीय संसदका चार सयभन्दा बढी कर्मचारीमा कोभिड-१९ संक्रमण।

नयाँदिल्ली:= भारतमा संसदका चार सयभन्दा बढी कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । अधिकारीका अनुसार कर्मचारीलाई मंगलबारदेखि शनिबारसम्म नियमित परीक्षणको क्रममा उक्त संक्रमण देखिएको हो ।

संसदको बजेट अधिवेशनअघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार एक हजार ४०९ संसद कर्मचारीमध्ये ४०२ जनामा संक्रमण पुष्टि भएको हो ।

‘जनवरी ४ देखि जनवरी ८ सम्म गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा संक्रमण देखिएको छ । ती सबै नमूना ओमिक्रोन भेरियन्ट कन्फर्मेसनका लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ,’ एक अधिकारीले भने । संसदका कर्मचारीको आन्तरिक सन्देशमा कर्मचारीलाई सरकारको निर्देशनअनुसार सावधानी अपनाउन सुझाब दिइएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, लोकसभाका २ सय र राज्यसभाबाट ६९ जना र १३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको छ ।

थप एक लाख ५९ हजार ६३२ संक्रमित

भारतमा पछिल्लो समय कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि पछिल्लो समयसम्म तीन करोड ५५ लाख ८ हजार संक्रमित भएका छन् ।

पछिल्लो समय यहाँ तीन हजार ५२३ जना ओमिक्रोनका संक्रमित रहेका पनि सो मन्त्रालयले आइतबार जानकारी दिएको छ । ओमिक्रोनका ती संक्रमितहरूमा एक हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ ।

भारतमा पछिल्लो समय संक्रमित अवस्थामै रहेकाको संख्या पाँच लाख ९० हजार ६११ छन् । कोरोना सुरु भएयता पछिल्लो समयसम्म तीन करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना संक्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि पछिल्लो समयसम्म एक अर्ब ५१ करोड ५७ लाख ६० हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।