एजेन्सी म्याड्रिड:= स्पेनिस ला लिगामा शीर्ष टोली रियल म्याड्रिडले फराकिलो जित निकाल्दा बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई चार/एक गोलले हरायो । अर्को खेलबा १० खेलाडीमा समेटिएको बार्सिलोनाले ग्रानाडासँग एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरले दुई/दुई गोल गर्नुभयो । भ्यालेन्सियाका गोन्कालो गुइडेसले सान्त्वना गोल फर्काउनुभयो । बेन्जेमाले ४३औँ मिनेटमा पेनाल्टीमार्फत् गोलको खाता खोल्नुभएको थियो । डि बक्सभित्र विपक्षी डियाखावीले क्यासमिरोलाई लडाएपछि रियलले पेनाल्टी पाएको थियो ।
त्यसपछि ५२औँ मिनेटमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर बनाउनुभयो । ६१औँ मिनेटमा भिनिसियसले मार्काे असेन्सियोको पासमा हेड गोल गर्दै रियलको अग्रता थप बलियो बनाउनुभयो । जारी लिगमा भिनिसियसको यो १२औँ गोल हो । उहाँ सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा हुनुहुन्छ ।
७६औँ मिनेटमा गोन्कालो गुइडेसले रिवाउन्डमा गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गर्नुभयो । गुइडेसको पेनाल्टी प्रहार गोलरक्षक थिवाउट कोर्टुवाले फर्काएपछि सोही बलमा उहाँले सोझै गोल गर्नुभएको थियो ।
८८औँ मिनेटमा बेन्जेमाले फर्लान्ड मेन्डीको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सानदार जित दिलाउनुभयो । जारी लिगमा बेन्जेमाको यो १७औँ गोल हो । सात असिस्टसमेत दिनुभएका उहाँ सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा हुनुहुन्छ । रियलका भिनिसियस ‘म्यान अफ दि म्याच’ हुनुभयो ।
जितसँगै शीर्ष स्थानमा रहेको रियलले २१ खेलबाट ४९ अंक बनाएको छ । रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा आठ अंकले अगाडि छ । पराजित भ्यालेन्सिया २८ अंकसहित नवौँ स्थानमा छ ।
यसैगरी अर्को खेलमा बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाका लागि लुक डे जोङले ५७औँ मिनेटमा गोल गर्नुभयो । ७९औँ मिनेटमा गाभी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । जसको फाइदा ग्रानाडाले ८९औँ मिनेटमा बराबरी गोल गर्दै उठायो ।
ग्रानाडाका एन्टोनिओ पुयर्तासले बराबरी गोल गर्नुभएको थियो । बार्सिलोनाका डानी अल्भेस ‘म्यान अफ दि म्याच’ हुनुभयो । बराबरीसँगै २० खेलबाट ३२ अंक बनाएको बार्सिलोना छैटौँ स्थानमा छ । २४ अंक बनाएको ग्रानाडा १२औँ स्थानमा छ ।
अर्को खेलमा रियल सोसिडाडले सेल्टा भिगोलाई १-० र लिभान्तेले मालोर्कालाई २-० गोलले हराएको छ । जितसँगै ३३ अंक बनाएको सोसिडाड चौथो स्थानमा छ । पराजित सेल्टा भिगो २३ अंकसहित १३औँ स्थानमा छ । जिते पनि ११ अंक बनाएको लिभान्ते तालिकाको अन्तिममा छ । पराजित मालोर्का २० अंकसहित १५औँ स्थानमा छ ।




















