एमाले जिल्ला अधिवेशन: ६३ मध्ये ३६ जिल्लामा नेतृत्व चयन, अधिकांशमा सर्वसम्मत।

काठमाडौं:= शुक्रबारबाट सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत ३६ जिल्लामा नेतृत्व चयन भएको छ । ६३ जिल्लामा अधिवेशन सुरु भएकोमा आइतबार साँझसम्मको परिणामअनुसार ३६ जिल्लामा नेतृत्व चयन भएको हो । जसमा ३४ जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन भएको छ । दुई जिल्लामा भने निर्वाचन भएको छ । एमालेका अनुसार कपिलवस्तु र पश्चिम नवलपरासीमा चुनावी प्रक्रियाबाट नेतृत्वको टुंगो लागेको हो ।

अध्यक्ष सर्वसम्मत भएका ठाउँमा पनि अधिकांश अन्य पदमा भने मतदान हुँदैछ । एमालेले प्यानल बनाएर चुनाव लड्न निषेध गरे पनि कतिपय जिल्लामा प्यानलगत प्रतिस्पर्धा हुँदैछ । केही जिल्लाहरूमा सहमतिका नाममा जबरजस्ती नेतृत्व चयन भएको भन्दै विरोध पनि भएको छ ।

सार्वजनिक परिणामअनुसार लुम्बिनी प्रदेशमा अहिलेसम्म १० जिल्लामा नेतृत्व चयन भएको छ । लुम्बिनीको पाल्पामा धनेन्द्रराज घिमिरे, गुल्मीमा बालकृष्ण काउछा मगर, अर्घाखाँचीमा पिताम्बर भुसाल, बाँकेमा किस्मत कुमार कक्षपती र बर्दियामा लालबहादुर श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ ।

यस्तै, दाङमा हुकुमबहादुर बस्नेत, रुपन्देहीमा  तेजेन्द्र केसी, कपिलवस्तुमा डम्मर शर्मा, नवलपरासी –पश्चिम)मा दीपेन्द्र अधिकारी चयन हुनुभएको छ । शर्मा र अधिकारी निर्वाचनबाट अध्यक्ष बन्नुभएको हो ।

बागमतीको धादिङमा भूमि त्रिपाठी, काभ्रेपलाञ्चोकमा अशोक ब्याञ्जु, भक्तपुरमा वचन देउजा, रसुवामा कर्णेल तामाङ र रामेछापमा आनन्दकुमार श्रेष्ठ जिल्ला अध्यक्ष चयन हुनुभएको छ । यस्तै, नुवाकोटमा बद्री मैनाली, मकवानपुरमा एकलाल श्रेष्ठ र काठमाडौंमा दीपक निरौला चुनिनुभएको छ । मकवानपुरमा विवाद सिर्जना भएको छ । त्यहाँ अध्यक्षका प्रत्यासी अध्यक्ष बद्रीप्रसाद लम्सालले विरोध जनाउनुभएको छ ।

सहमति भएको भन्दै एकलाल श्रेष्ठलाई अध्यक्ष र अन्य पदाधिकारी घोषणा गरिएपछि उहाँले विरोध जनाउनुभएको हो । अधिवेशन आयोजक कमिटीका अध्यक्षसमेत रहनुभएका लम्सालले नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरिएको भए पनि सहमतिका नाममा रोकिएको र त्यसमा आफ्नो सहमति नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहमति हुन नसकेको अवस्थामा आज बिहान ८ बजे निर्वाचन गर्ने तालिका रहेको थियो,’ लम्सालले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ‘सोहीअनुसार मतदाता नामावली एवं उम्मेदवारहरूको अन्तिम नामावलि टाँस भई निर्वाचन गर्ने तयारी थियो । निर्वाचन नगर्न बाहिर प्रचारमा आए जस्तो कुनै सहमति भएको छैन । सहमति गर्न मसँग कुनै पनि औपचारिक छलफलसमेत गरिएन ।’

गण्डकीको गोरखामा प्रेम गुरुङ, तनहुँमा श्रीप्रसाद श्रेष्ठ, म्याग्दीमा देवेन्द्र केसी र लमजुङमा कृष्णप्रसाद अधिकारी जिल्ला अध्यक्ष बन्नुभएको छ ।

यस्तै, प्रदेश १ को झापामा दीपक कार्की, मोरङमा ऋषिकेश पोखरेल, खोटाङमा रामप्रसाद दंगाल,  धनकुटामा इन्द्रमणि पराजुली, तेह्रथुममा तेजमान कन्दङवा, पाँचथरमा राजकुमार भण्डारी र भोजपुरमा शरण राई अध्यक्ष बन्नुभएको छ ।

प्रदेश २ मा सप्तरीमा मात्रै अधिवेशन भएको हो । त्यहाँ ताराकान्त चौधरी जिल्ला अध्यक्ष चुनिनुभएको छ । कर्णालीको डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर र जुम्लामा शान्तिलाल महत चुनिनुभएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका दुई जिल्ला डडेल्धुरा र बैतडीमा मात्रै सर्वसम्मत नेतृत्व चयन भएको छ । डडेल्धुरामा प्रकाश साउद र बैतडीमा सुरेन्द्र पाल अध्यक्ष बनेका छन् । सुदूरपश्चिमका अन्य केही जिल्लामा प्यानल नै बनाएर उम्मेदवारहरू मैदान उत्रिएका छन् । कैलालीमा विवाद सिर्जना हुँदा झडप र तोडफोडसमेत भएको थियो ।  गैरभौगोलिक जिल्लातर्फ मजदुर विशेषमा जितेन्द्र श्रेष्ठ र पेशागत विशेषमा उमेश ढकाल अध्यक्ष चुनिनुभएको छ ।