झापा:= नेकपा एमाले अध्यक्ष ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गर्नुभएको छ । ओलीले देशको गरिमा उच्च राख्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैबाट उखेल्नुको विकल्प नभएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘देशको गरिमा उच्च पार्न र मुलुकलाई विकसित बनाउनका लागि भ्रष्टाचारलाई जरैदेखि हटाउन आवश्यक छ’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारलाई घृणा गर्नुहोस्, ढिलासुस्ती नगरेर जनताको मन जित्नेगरी काम गर्नुहोस् ।’
अध्यक्ष ओलीले मानिस कुनै न कुनै राजनीतिक विचारबाट प्रेरित हुने गरेको बताउँदै कर्मचारी पनि त्यसबाट भिन्न नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘काम गर्ने बेलामा कर्मचारीले निरपेक्ष भएर जनताको काम गर्नुपर्छ, कर्मचारी संयन्त्र जनताको सेवा गर्ने संयन्त्र हो ।’
अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी संकट मोचनमा अग्रसर भएको बताउनुभयो । उहाँले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताउनुभयो ।
दुई तले भवनको कुल लागत एक करोड ८८ लाख नौ हजार ५७० रुपैयाँ रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गर्नुभएको थियो ।




















