सिन्धुपाल्चोक:= हातमा सीप भएर पनि भनेजस्तो कमाइ नभएपछि विदेशिएका सिन्धुपाल्चोक चौताराका युवाहरू पुनः गाउँमै फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर मनग्ये आम्दानी गरिरहेका छन् । सदरमुकाम चौतारामै चौतारा गार्मेन्ट उद्योग सञ्चालन गरेर युवाहरूले घरमै बसेर राम्रो कमाइ गरिरहेका हुन्।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-४, चतुरेका बादलराज नेपाली करिब १६ वर्षदेखि सिलाइकटाइ पेशामा आबद्ध हुनुहुन्छ । काठमाडौंमा अरूको मजदुरी गरेर खासै राम्रो कमाइ नभएपछि उहाँले सेक्युरिटी गार्डका रूपमा तीन वर्ष वैदेशिक रोजगारीका लागि नेपाल छाड्नुभयो ।
‘बर्मा गए कर्म सँगै’ भनेजस्तै विदेशमा पनि उहाँले खासै राम्रो कमाइ गर्न सक्नुभएन । जसोतसो तीन वर्ष विदेश बसेर नेपाल फर्किनुभएका बादलले दुई वर्षअघिदेखि चौतारामा चौतारा गार्मेन्ट उद्योग सञ्चालन गरेर २० जनाभन्दा धेरैलाई रोजगारीसमेत दिइरहनुभएको छ।
‘यो गार्मेन्टमा सिजनमा २० जना भन्दा धेरैले रोजगार पाउँछन्,’ बादलले भन्नुभयो । सामान्य समयमा पनि कम्तीमा १० जना उहाँको गार्मेन्टमा नियमित काम गर्छन् । उक्त गार्मेन्टमा काम गर्नेमध्ये अधिकांश वैदेशिक रोजगारीमा गएर फर्किएका कालीगढहरू छन् । विदेशबाट फर्किएर काठमाडौंमा रोजगार गरिरहेका युवाहरू पनि गाउँमै राजधानीकै जति कमाइ हुने भएपछि गाउँ फर्किएका हुन् ।
आफ्नै घरमा बसेर काम गर्दा कोठाभाडा र यातायात खर्चसमेत जोगिने भएपछि उनीहरू चौतारा गार्मेन्ट उद्योगमा काम गर्न आएका हुन् । घरमै बसेर रोजगारी पाएपछि उनीहरूका परिवारका सदस्यहरूसहित उनीहरूसमेत खुशी रहेका सो गार्मेन्टका कालीगढ राम हिमालले बताउनुभयो ।
गार्मेन्टमा टिसर्ट, पाइन्ट, सर्ट, ट्र्याकसुटलगायतका कपडा सिलाइ हुने गार्मेन्टका अर्का कालीगढ उमेश परियार बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालय, चौतारा र चौतारा साँगाचोकगढी नगरपालिकाको समेत सहयोग प्राप्त उक्त उद्योगमा कपडाको सिलाइका साथै धुलाइको समेत काम हुन्छ । बजारवासीहरू ठूला ब्ल्याङ्केटदेखि साना कपडाहरू धुन पनि गार्मेन्ट आउने गर्दछन् ।
जिल्लामा रहेका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूले विद्यार्थीका लागि ठूलोमात्रामा ट्र्याकसुटसमेत यहीँ सिलाउन थालेका छन् । राजधानीकै मूल्यमा सोही गुणस्तरको कपडा पाउने भएपछि विद्यालय सञ्चालकहरूसमेत खुशी भएका जुगल बोर्डिङ हाईस्कुलका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले बताउनुभयो । युवाहरूले सञ्चालन गरेका यस्ता उद्योगहरूले प्रशस्त रोजगारीको सिर्जना त गरेका छन् नै, स्थानीय बासिन्दालाई समेत धेरै नै सहज भएको छ ।




















