शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ र मच्छिन्द्रको जित।

काठमाडौं:= मनाङ-मस्र्याङ्दी क्लब र मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार भएको आ-आफ्नो खेलमा जित हात पारेका छन् । पोखरा रंगशालामा भएको खेलमा मनाङले शनिबार च्यासल युथ क्लबलाई ५-० गोलअन्तरले हरायो । मनाङलाई जित दिलाउन ओलावाले ओलाडिपे अफिजले हृयाट्रिक गर्नुभएको थियो । उहाँसँगै आडेलाजा सोमिडे र दिनेश राजवंशीले समान एक/एक गोल थप्नुभयो ।

खेलको चौथो मिनेटमा आडेलाजा सोमिडेको गोलबाट मनाङले अग्रता लिएको हो । ४३औँ मिनेटमा ओलावालेले मनाङको अग्रता दोब्बर पार्नुभयो । खेलको इन्ज्युरी समयमा ओलावालेले दुई गोल थप्नुभएको थियो । त्यसअघि दिनेशले रूपेश केसीको कर्नरमा हेडर गर्नुभएको थियो ।

जितसँगै मनाङ आठ खेलमा ६ जित, एक बराबर र एक हारका साथ १९ अंक जोड्दै दोस्रो स्थानमा छ । शीर्ष स्थानको मच्छिन्द्रको २० अंक पुगेको छ । पाँचौँ हार बेहोरेको पुछारबाट दोस्रो स्थानमा रहेको च्यासलको पाँच अंक छ ।

यता दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रलाई जितका लागि आत्मघाती गोलको सहारा लिनुप¥यो । फ्रेन्ड्स क्लबमाथि मच्छिन्द्रले १-० को जित हात पारेको हो । खेलको ६७औँ मिनेटमा आत्मघाती गोलबाट मच्छिन्द्रले खेलमा १-० को अग्रता लिएको हो । कप्तान सुजल श्रेष्ठको क्रसमा रोनेल एन्थोनी पउलले हेडर गोल गर्नुभएको थियो ।

जितसँगै अपराजित रहेर शीर्ष स्थानमा रहेको मच्छिन्द्रको आठ खेलबाट २० अंक पुगेको छ । लगातार हारसँगै फ्रेन्ड्सको रेलिगेसनको दबाब बढेको छ । फ्रेन्ड्स आठ खेलबाट तीन अंक जोडेर पुछारमा छ ।