अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको निर्वाचन अर्को वर्षको जेठमा हुने।

काठमाडौं := अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको निर्वाचन अर्को वर्षको जेठमा हुने भएको छ । एन्फाको शुक्रबार सकिएको १५औँ कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । बिहीबारदेखि सुरु भएको एन्फा बैठक शुक्रबार अबेर टुंगिएको थियो ।

निर्णयअनुसार त्यसअघि आगामी फागुन १५ देखि ३० गतेसम्म जिल्ला र चैत १ देखि १० गतेसम्म प्रदेश संघको निर्वाचन गरिने भएको छ । बैठकले माघको ३० गतेभित्र जिल्ला र प्रदेश संघको निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाउने र माघ २९ गते एन्फाको विशेष साधारणसभा गर्ने निर्णयसमेत गरेको छ ।

निर्वाचनका लागि नियमावली तथा निर्वाचन निर्देशिका बनाउन बैठकले किरण राईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपसंयोजकमा मधुसुदन उपाध्याय, सदस्यमा रत्नकुमार श्रेष्ठ, दीर्घबहादुर केसी, पूर्णमान चित्रकार, पेमा डोल्मा, दावा लामा, प्रदेशसिंह राठोर र दिनेश व्यञ्जनकार रहनुभएको छ ।

यस्तै, एन्फाले शहीद स्मारक लिग खेल्ने तीनै श्रेणीका क्लबले तयारीबापत पाउने रकममा हरेक क्लबलाई दुई लाख ५० हजार रुपैयाँ थप दिने निर्णय गरेको छ । हाल ‘ए’ डिभिजन खेलिरहेका क्लबले लिगको तयारीबापत हरेक क्लबले २० लाख रुपैयाँ प्राप्त गरेका थिए । ‘बी’ डिभिजनका क्लबले थप गरिएको रकम गरी १२ लाख ५० हजार तथा ‘सी’ डिभिजनले नौ लाख ५० हजार रुपैयाँ तयारीबापत प्राप्त गर्नेछन् ।

यस्तै नेपालको राष्ट्रिय महिला र पुरुष टोली तथा विभिन्न उमेर समूहमा प्राप्त गर्ने सफलताका आधारमा पुरस्कृत गर्नका लागि एन्फाले मापदण्ड तयार गर्ने भएको छ । त्यसका लागि एन्फाले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष सदस्य रहने गरी समिति गठन गरेको छ । समितिले १५ दिनभित्र पुरस्कारको मापदण्ड तयार गर्ने, त्यही समितिको सिफारिसका आधारमा आउने दिनमा पुरस्कृत गर्ने निर्णय कार्यसमितिको छ ।