भद्रपुर नाकामा छैनन् स्वास्थ्यकर्मी, काँकडभिट्टामा बढ्यो कोरोना जोखिम।

[ पार्थ मण्डल ] 

झापा:= भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको भद्रपुर सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ । भद्रपुर-५ स्थित मेची पुलमा हेल्थ डेस्क स्थापना नहुँदा स्वदेश फर्किनेबाट तेस्रो लहर फैलिने जोखिम बढेको हो ।

सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ । भद्रपुर नगरपालिकाले सीमा नाकामा स्वास्थ्य परीक्षणको लागि स्वास्थ्य उपकरणसहितको स्वास्थ्यकर्मी परिचालन नगर्दा जोखिम बढेको स्वयं स्थानीयबासीहरू बताउँछन् । पहिलो लहरको कोरोनापछि भद्रपुर सीमा नाका १९ महिना बन्द गरिएको थियो ।

गत असोज १५ गतेदेखि भद्रपुर नाका पुनः सञ्चालनमा आएको हो । कोरोना महामारीले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्र भद्रपुर नाकाबाट आवतजावत गर्न समयावधि तोकिएको छ । सीमा नाका सञ्चालन भएपछि नगरपालिकाले केही समयका लागि मात्र स्वास्थ्यकर्मी खटाएका थिए । नगरपालिकाले एकजना स्वास्थ्यकर्मी खटाएका थिए ।

स्वास्थ्यकर्मी बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म मात्र बस्ने गर्थे । त्यो पनि सशस्त्र प्रहरी बसेको पोष्टमा । स्वास्थ्यकर्मीको लागि छुट्टै हेल्थ पोष्टसमेत बनाइएको छैन । पछिल्लो समयमा छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएसँगै नाका उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनुपर्ने हो ।

तर, यही बेला नाकामा स्वास्थ्यकर्मी छैनन् । तैनाथ सुरक्षाकर्मीले विना मास्क आवतजावतमा चाँहि रोक लगाएको छ । मास्क, खोप कार्ड र पिसिआर रिपोर्टले मात्र कोरोना छेक्दैन । त्यसका लागि सीमा नाकामा ज्वरो नाप्ने थर्मलगन, कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहित स्वास्थ्यकर्मी परिचालन हुनुपर्छ ।

सीमा नाकाबाट आउजाउ गर्ने सर्वसाधारणहरू अझै पनि बिना मास्क हिँडिरहेको बताउँदै वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार लिम्बूले भन्नुभयो, ‘अझै पनि मास्क लगाउनुस् भन्नु परेको छ, सर्वसाधारण जनतालाई कहिले चेतना आउँछ ?’

काँकडभिट्टा नाकामा कडाइसँगै भिडभाड बढ्न थालेपछि भारतीय नम्बर प्लेटका टुरिष्ट गाडी भद्रपुर नाकाबाट आउन थालेको छ । ती भारतीय गाडीमा आउने सर्वसाधारण बागडोगरा विमानस्थल र न्यु जलपाइगुडी रेल्वे स्टेसनबाट सोझैै आउने गरेका छन् । ‘त्यहाँबाट आउने सर्वसाधारण भारतको कोरोना जोखिम क्षेत्रबाट आउन सक्छन्,’

प्रहरी निरीक्षक लिम्बूले भन्नुभयो, ‘उनीहरूलाई परीक्षण बिनै प्रवेश गर्न दिन बाध्य छौँ, सीमा नाकामै उनीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी नै खटाइएको छैन, स्थानीय पालिकासँग माग गरे पनि पठाएको छैन ।’ ज्वरो नाप्ने थर्मलगन र कोरोना परीक्षणको एन्टिजेन्ट किटसहितको स्वास्थ्यकर्मी नहुँदा कोरोना फैलिने जोखिम नाकामा बढेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरका प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिनुभयो ।

यस नाकामा दुई स्थानमा पिसिआर रिपोर्ट र खोप कार्ड जाँच गरिन्छ । नेपालतर्फ सशस्त्र र नेपाल प्रहरीले र उता भारततर्फ एसएसबीले पिसिआर रिपोर्ट र खोप कार्ड जाँच गर्दै आइरहेको छ । सशस्त्र प्रहरी निरीक्षक दाहालले भन्नुभयो, ‘एसएसबीले जाँच गर्ने स्थानमा पनि स्वास्थ्यकर्मी छैन, यता पनि स्वास्थ्यकर्मी छैन ।’ ‘स्वास्थ्यकर्मी हप्तामा एक/दुई दिन आउने फेरि आउन छाड्छन्, यस बारेमा नगरपालिकालाई जानकारी गराइसकेका छौँ,’ उहाँले भन्नुभयो ।

जोखिम उस्तै

काँकडभिट्टा नाका भएर आउने सर्वसाधारणमा कोरोना संक्रमण देखा पर्न थालेको छ । बुधबार सो नाका भएर भित्रिने एकजनामा संक्रमण पुष्टि भएकोमा बिहीबार र शुक्रबार संक्रमितको संख्या बढेर १३ पुगेको छ । बिहीबार ६ जना र शुक्रबार सातजनामा कोरोना संक्रमण भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।

नाकामै एन्टिजेन्ट किटबाट कोरोना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । भारतबाट नेपाल भित्रिने नेपालीहरूमा फेरि संक्रमण बढेको डिएसपी दाहालले बताउनुभयो । यता, नेपालीहरूको एन्टिजेन टेष्ट गर्नका लागि काँकडभिट्टा नाकामा हेल्थ हेल्प डेस्क स्थापना गरिएको छ । विगतमा नाकाको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मलगन मात्र हुन्थ्यो । तर, अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्री डेस्कमा राखिएको छ ।

कोरोना खोप लगाएका नेपालीहरूको हकमा एन्टिजेन टेष्ट गराएर मात्र प्रवेश गर्न दिइएको उनको भनाइ छ । डबल डोज खोप कार्ड भएपछि नाकामा सहज आवतजावत भइरहेको छ । जसकारण सीमानजिकै भारतीय बजार पानीट्यांकीलगायत ठाउँ पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्ने नेपालीहरूको भिडसमेत बढेको छ । उनीहरूकै कारण नाकामा जोखिम बढेको छ । दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन् । तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने गरेको उहाँले बताउनुभयो ।