प्रधानमन्त्री देउवाले ओलीलाई फकाउँदै भने,‘संसद्को अवरोध हटाऔँ, एमसिसी पास गरौँ’

काठमाडौं := संसद्को अवरोध खुलाउन आग्रह गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको एमालेका अध्यक्ष ओलीलाई भेटेर प्रधानमन्त्री देउवाले शनिबार बालकोट पुगेर नै संसद् सुचारु गर्न सहयोग गर्न आग्रह गर्नुभएको हो ।

पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त गर्न माग गर्दै एमालेले संसद्को अवरोध जारी राखेको छ । गत भदौ २३ गतेयता संसद्मा एमालेको अवरोध जारी रहेको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार संसद्को गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले ओलीलाई आग्रह गर्नुभएको थियो । अध्यक्ष ओलीले माधव नेपालको कारबाही वैध हुनुपर्ने विषयमा जोड दिनुभएको बुझिएको छ ।

भेटमा प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना एमसिसी सम्झौता अगाडि बढाउने विषयमा पनि एमालेले सहयोग गर्नुपर्ने प्रस्ताव ओलीसमक्ष राख्नुभएको बताइएको छ ।

आफूले कारबाही गरेका माधव नेपालसहित १४ संसद्को कारबाही रोकेर अवैध रूपमा दल (नेकपा एस) दर्ता गरिएको भन्दै प्रतिपक्षी एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ । माधव नेपालको कारबाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसद्मा उपस्थित गराउन नहुने र कारबाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

प्रधानमन्त्री र सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि देउवा स्वयं ओलीलाई फकाउन बालकोट जानभुएको हो । एमालेसँग संवाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी, सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन ।

सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । शुक्रबार बसेको गठबन्धन कार्यदलको बैठकले ओलीलाई बालकोट पुगेरै भए पनि फकाउने जिल्मा प्रधानमन्त्रीलाई दिएको थियो ।

यसअघि पनि सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय संयन्त्रका संयोजक रामचन्द्र पौडेल बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो । देउवा यसपटक प्रधानमन्त्री भएपछि पहिलोपटक ओली निवास पुग्नुभएको हो ।

प्रधानमन्त्री देउवासँग भेटपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँसँग कुराकानी भयो, सद्धियो नि त । कुराकानी राम्रो भयो दुई जनाबीच ।’ प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच करिब एक घण्टा कुराकानी भएको थियो ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै ओली सर्वदलीय बैठकमा सहभागी नभए पनि आफूहरू फकाउन बालकोट नै जानुपर्ने बताउँदै आउनुभएको थियो ।

एमालेले माधव नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाही गरिएको पत्र भदौ १ गते सभामुख अग्नि सापकोटालाई पठाएको थियो । त्यसको १० दिनपछि भदौ ११ गते माधव नेपालको नेतृत्वमा अर्को पार्टी गठन भएको पत्र भदौ १३ गते निर्वाचन आयोगबाट संसद् सचिवालयमा आएपछि सभामुख सापकोटाले उनीहरूलाई कारबाही गर्नु नपर्ने निर्णय गर्नुभएको थियो ।

कुनै पनि राजनीतिक दलले आफ्ना सांसदहरूलाई कारबाही गरेको सूचना दिएपछि १५ दिनभित्र सभामुखले निर्णय गर्नुपर्ने प्रावधान छ । यही प्रावधान टेकेर एमालेले सभामुख र निर्वाचन आयोगविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमालेले भदौ २३ यता प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अवरोध गर्दै आएको छ ।

बाबुराम भट्टराईको आपत्ति !

प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई फकाउन बालकोट पुगेपछि सत्ता गठबन्धनका शीर्ष नेता डा. बाबुराम भट्टराईले आपत्ति जनाउनुभएको छ । शुक्रबार नै गठबन्धनको संयन्त्रले प्रधानमन्त्री देउवालाई बालकोट जान सुझाव दिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । शनिबार प्रधानमन्त्री देउवा बालकोट नै पुगेपछि भट्टराईले आपत्ति जनाउनुभएको हो । बाबुरामले सो निर्णयप्रति सांकेतिक असन्तुष्टि जनाउँदै शुक्रबार साँझ नै ट्वीट गर्नुभएको थियो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पार्ने प्रतिगामी खेल जारी रहेको बताउनुभएको थियो ।

देउवा मात्रै नभएर पछिल्लो समयमा कांग्रेस नेता पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतलगायत नेताहरूले पनि बालकोट पुगेर ओलीसँग संवाद गरिसक्नु भएको छ । ओलीलाई भेट्न नेताहरू बालकोट गइरहेको तर्फ संकेत गर्दै भट्टराईले भन्नुभएको छ, ‘प्रतिगमनकारीहरू आफ्नै सत्यानाश नभएसम्म षड्यन्त्र गरिरहन्छन् भन्ने इतिहासबाट बुझौँ । प्रतिगमनकारीसँग झुक्ने हैन, लड्ने हिम्मत गरौँ !’