साताभर २१ अर्बभन्दा बढीको सेयर कारोबार।

काठमाडौं:= साताभर सेयर बजार १६७.९७ अंकले बढेको छ । गत साता २५२४.५० अंकमा बन्द भएको नेप्से बढेर २६९२.४७ अंकमा पुगेको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्ससमेत ३४.९२ अंक बढेर ५०६.१६ अंकमा पुगेको छ । साताको चार दिन बजार बढेसँगै कुल बजार पुँजीकरण दुई खर्बभन्दा बढीले वृद्धि भएको छ भने २१ अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । साताभर २१ अर्ब २७ करोड ८७ लाख १२ हजार बराबरका चार करोड १३ लाख ७२ हजार पाँच सय ५६ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

त्यसो त नेप्से बढे पनि कारोबार भने गत साताभन्दा घटेको छ । गत साता दैनिक औसतमा चार अर्ब ३८ करोडको कारोबार भएकोमा यो साता चार अर्ब २५ करोडको मात्र कारोबार भएको हो । गत साता चार दिनमा १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार बराबरका तीन करोड तीन लाख ६१ हजार दुई सय ४४ कित्ता सेयर कारोबार भएका थिए । पहिलो दिन अर्थात् आइतबार नेप्से ६०.४१, दोस्रो दिन ३२.०३, तेस्रो दिन ६३.०१ र पाँचौं दिन ४३.२९ अंकले बढेको छ ।

यस साता कुल बजार पुँजीकरण पनि गत साताभन्दा ६.६२ प्रतिशत अर्थात् २ खर्ब ३५ अर्ब ९९ करोड ८१ लाख रुपैयाँले बढेको छ । गत साता ३५ खर्ब ६७ अर्ब ३४ करोड ८० लाख रहेको कुल बजार पुँजीकरण बढेर ३८ खर्ब तीन अर्ब ३४ करोड ६२ लाख रुपैयाँ कायम भएको हो । १३ वटै समूहगत परिसूचक बढेका छन् । विकास बैंकको सूचक ४५९.१४ अंक बढेर ४६८४.२२ बिन्दुमा पुगेको छ भने जलविद्युत् ८.३७, वित्त ७.९२,  लगानी ७.७३, बैंकिङ ७.६५, व्यापार ७.१६, लघुवित्त ६.५४, होटल तथा पर्यटन ५.६५, जीवन बिमा ४.६२, निर्जीवन बिमा ४.५६, उत्पादन तथा प्रशोधन ३.५५ अन्य ३.०१ र म्युचुअल फन्ड सबैभन्दा कम २.२१ प्रतिशतले बढेका छन् ।

यस साता मध्य भोटेकोशीका लगानीकर्ताले सबैभन्दा बढी कमाए भने छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । मध्य भोटेकोशीको सेयरमूल्य ६०.९३ प्रतिशत बढेर दुई सय ३५ रुपैयाँ पुगेकोमा छ्याङ्दीको ११.११ प्रतिशतले घटेर ४१७.८० रुपैयाँमा झरेको छ । फस्ट माइक्रो फाइनान्सका लगानीकर्ताले २३.२९, तेह्रथुम पावरका लगानीकर्ताले १९.०१, आरएसडिसी १७.५६, सप्तकोशी डेभलपमेन्ट १७.३४, राष्ट्रिय बिमा कम्पनी संस्थापक १७.१४, ज्योति लाइफ १६.६७ प्रतिशत, लुम्बिनी विकास बैंक १५.७६, स्वरोजगार लघुवित्त १५.७६ र किसान लघुवित्तका सेयर लगानीकर्ताले १५.५७ प्रतिशतले नाफा कमाएका छन् ।